ग्लोबल बैंक र भाटभटेनीबीच सहकार्य, ग्राहकलाई विशेष क्रेडिट कार्ड सुविधा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकहरूलाई विशेष सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।
भाटभटेनीका सम्पूर्ण स्टोरहरुबाट सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा अन–द–फ्लाई ईएमआई सुविधा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।
डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने र ग्राहकलाई आधुनिक वित्तीय सेवा दिने उद्देश्यले दुई संस्थाबीच व्यावसायिक सहकार्य सुरुवात भएको हो ।
सम्झौता बमोजिम बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले न्यूनतम १५ हजार रुपैयाँ वा सो भन्दा बढीको खरिदमा तत्कालै किस्ताबन्दी सुविधा पाउनेछन् । यसका लागि कुनै अतिरिक्त कागजी प्रक्रिया आवश्यक पर्ने छैन । ग्राहकले आफूलाई अनुकूल हुने गरी ३, ६, ९, १२ वा १८ महिनासम्मको अवधि छनोट गरी रकम भुक्तानी गर्न सक्नेछन् ।
यस किस्ताबन्दी योजनामा ग्राहकलाई कुनै पनि ब्याज वा प्रोसेसिङ शुल्क नलाग्ने बैंकले जानकारी दिएको छ ।
यो सुविधाबाट विशेष गरी इलेक्ट्रोनिक्स तथा ठुला सामग्रीहरू खरिद गर्ने ग्राहकहरूलाई तत्काल पर्ने आर्थिक भार कम हुने र योजनाबद्ध रूपमा भुक्तानी गर्न सहज हुने बैंकले विश्वास व्यक्त गरेको छ ।
साथै, यस सहकार्य अन्तर्गत भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकहरूको कारोबार इतिहास र आर्थिक व्यवहारका आधारमा विशेष ग्लोबल बिबिएसएम क्लब कार्ड (क्रेडिट कार्ड) जारी गरिने भएको छ ।
भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकहरूले आफ्नो आर्थिक वर्ष तथा पछिल्लो ३ महिनाको कारोबार इतिहासका आधारमा १ लाख ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मको क्रेडिट सीमा भएको कार्ड प्राप्त गर्न सक्नेछन् ।
सुरुवातमा यो कार्ड बिबिएसएम तथा यसका नेटवर्कमा मात्र प्रयोग गर्न सकिनेछ ।
उक्त कार्डमार्फत् ग्राहकहरूले थप सहज भुक्तानी सुविधा, विशेष अफर, छुट तथा भविष्यमा सञ्चालन हुने विभिन्न ग्राहक लक्षित योजनाहरूको लाभ लिन सकिने बताइएको छ ।
ग्लोबल आइएमई बैंक र भाटभटेनीबीचको यो सहकार्यले डिजिटल भुक्तानी प्रवर्द्धन, आधुनिक वित्तीय सेवाको विस्तार तथा ग्राहकलाई थप लाभान्वित गर्ने उद्देश्य बैंकले लिएको छ ।
दुवै संस्थाले अगामी दिनमा संयुक्त रूपमा विभिन्न आकर्षक छुट, क्यासब्याक, रिवार्ड तथा विशेष ग्राहक केन्द्रित योजनाहरू सञ्चालन गर्दै ग्राहकलाई थप लाभ प्रदान गर्ने योजना बनाएका छन् । यो योजनामा आईएमएस सफ्टवेयर प्रा।लि।ले प्राविधिक साझेदारको रूपमा सहकार्य गरेको छ ।








