पोलिसी कब्जा र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, छटपटी हुनेलाई भइरहोस: अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको सुशासन र आर्थिक संरचना सुधारका लागि ठुलो परिवर्तन गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विगतमा नीतिगत तहमा हुने ‘पोलिसी कब्जा’ र म्याक्रो सिन्डिकेटको अभ्यास अन्त्य गर्ने गरी सरकार अगाडि बढेको बताए । पुराना संरचनाबाट फाइदा लिइरहेकाहरू अहिले भ्रम फैलाउन सक्रिय रहेको उल्लेख गर्दै उनले त्यसलाई ‘अन्तिम छटपटी’ को संज्ञा दिए ।

वाग्लेले अबको अर्थतन्त्र ‘लेभल प्लेइङ्ग फिल्ड’ र निष्पक्ष प्रतिस्पर्धामा आधारित हुने बताए । उनका अनुसार नियामक निकायहरूमा स्वच्छ, सक्षम र योग्य व्यक्तिहरूको नेतृत्व स्थापित गरिनेछ ।

उनले राजनीतिक संयन्त्र, आर्थिक संरचना तथा नियामक निकायहरू कुनै व्यक्ति विशेष वा भ्रष्ट प्रभाव समूहको नियन्त्रणमा रहने अवस्था अन्त्य हुँदै गएको दाबी गरे ।

अर्थमन्त्री वाग्लेले अब विचार, सीप र प्रतिभा भएका व्यक्तिहरूले लाइसेन्स वा स्वीकृतिका लागि शक्ति केन्द्र धाउनुपर्ने अवस्थाको अन्त्य हुने बताए । निजी क्षेत्रलाई आफ्नो पुँजी र क्षमताको आधारमा नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि प्रतिस्पर्धा गर्न सक्ने वातावरण निर्माण गरिने उनको भनाइ छ ।

वाग्लेले सुशासनलाई नागरिकको घरदैलोसम्म पुर्‍याउन बजेटमार्फत ‘माइक्रो डेलिभरी’ मा विशेष जोड दिइएको बताए ।

उनका अनुसार ‘नागरिक एप’ मार्फत सयौँ सरकारी सेवा आबद्ध गर्ने तयारी भइरहेको छ । यसले सेवाग्राहीलाई सरकारी कार्यालय धाउनुपर्ने झन्झट हटाउने, बिचौलियाको भूमिका घटाउने र भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने विश्वास सरकारको रहेको उनले बताए ।

वाग्लेले भने, ‘बजेटमा सुशासनमा बिग हिट नै भनेका छौँ । त्यसैले यसमा म्याक्रो सिन्डिकेटहरू तोड्ने हो । पोलिसी कब्जाको जुन पुरानो अभ्यास थियो, त्योबाट हामी अब धेरै नै अगाडि आइसकेका छौँ । योबाट अत्तालिएकाहरूले अहिले केही भ्रम छर्ने काम पनि गरिरहेका छन् । त्यो अन्तिम छटपटी हो जस्तो मलाई लाग्छ ।’

उनले थपे, ‘अब हाम्रो राजनीतिक संयन्त्र, आर्थिक संरचना र नियामकीय निकायहरू कुनै व्यक्ति विशेषको कब्जामा जाने वा भ्रष्ट प्रभावमा चल्ने दिनहरू सकिएका छन् । विचार र प्रतिभा भएका मानिसहरूले लाइसेन्सको पछि दौडिएर आफ्नो सिर्जनशीलता खेर फाल्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ भन्ने हाम्रो सोच हो ।’

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई थप उद्यममैत्री वातावरण प्रदान गर्ने उद्देश्यका साथ बजेट ल्याइएको समेत बताए । सुशासनलाई नारामा सीमित नराखी संस्थागत संस्कृतिका रूपमा विकास गर्ने सरकारको प्रतिबद्धता रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =