६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्: सांसद राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मुलुकमा बाँदरको आतङ्कका कारण किसान मारमा परेको उल्लेख गर्दै ६ लाख बाँदर मार्नुपर्ने बताएका छन् ।
संसद भवन परिसरमा कुराकानी गर्दै उनले बाँदरले बालीनाली सखाप पारेका कारण किसानको समस्या समाधान गर्न यो कठोर कदम आवश्यक रहेको जिकिर गरे ।
६०० वटा बाँदर मारेको आरोपका सम्बन्धमा सोधिएको प्रश्नमा सांसद राईले आफूले प्रत्यक्ष रूपमा हत्या नगरेको तर जनताले बाँदर मार्दा आफूले त्यस कार्यमा सहयोग गरेको स्वीकार गरे ।
पशु अधिकारकर्मीहरूले जनावरको अधिकारका विषयमा गरिरहेको विरोधप्रति लक्षित गर्दै उनले व्यवहारिक समस्या बुझ्न आग्रह गरे । एनिमल लभर्सहरू माइतीघरमा बसेर आन्दोलन गरिरहेको तर वास्तविक समस्या किसानको मकैबारी र अलैँची घारीमा रहेको उनको तर्क छ ।
उनले भने ‘मैले हत्या गरेको होइन, जनताले मारेका हुन् र मैले त्यसमा सहयोग गरेको हुँ । ६०० होइन, अब ६ लाख बाँदर मार्नुपर्छ, तब मात्र शान्ति हुन्छ । लाखौँ मूल्य पर्ने अलैँचीका टुसा बाँदरले एकैछिनमा नष्ट गरिदिन्छ । किसानहरू धुरुधुरु रोइरहेका छन् । यस्तो अवस्थामा विदेशीले बनाइदिएको कानुन र एनजीओ/आईएनजीओको कुरा सुनेर जनतालाई पीडा दिनु हुँदैन ।’
सांसद राईले आफू कुनैपनि कानुनी कारबाही वा जेल जान नडराउने समेत स्पष्ट पारे । उनले विगतमा व्यवस्था परिवर्तनका लागि लडेका मानिसहरू उजुरीको भरमा नडराउने बताए । बाँदर संरक्षणको वकालत गर्नेहरूलाई गाउँका मकैबारीमा गएर किसानको अवस्था बुझ्न उनले चुनौती समेत दिए ।








