सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछ: वर्षमान पुन

काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले संसदको गतिरोध अन्त्यका लागि आवश्यक वातावरण बनाई दिन सभामुख डोलप्रसाद अर्यालसँग आग्रह गरेका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनी दिएको अभिव्यक्ति संसदमा नै आएर नसच्याई संसद बैठक चल्न नदिने विपक्षहरूको अडान रहेको स्पष्ट पार्दै सदन सुचारु गराउनका लागि वातावरण बनाउन सभामुख अर्यालसँग अनुरोध गरेका हुन् ।

नेता पुनले प्रधानमन्त्री साहले दिएको उक्त अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग पनि दोहोर्याए । उनले सदनको गतिरोध अन्त्यका लागि सत्तारुढ रास्वपाले पनि विभिन्न विकल्पहरू ल्याएको उल्लेख गर्दै त्यसमा बसेर छलफल गर्न पनि सभामुख अर्यालले आवश्यक सहजीकरण गर्नुपर्ने तर्क गरे ।

उनले भने ‘संसद नियमित चलोस् । यसमा हाम्रो प्रतिबद्धता छ र हाम्रो धारणा पनि यही हो । त्यसो हुँदा आजको बैठकको सन्दर्भमा प्रधानमन्त्रीको यो विषय सच्चिनु पर्दछ । संसदको रेकर्डबाट हट्नु पर्छ । उहाँले आएर जवाफ दिनुपर्छ भन्नेकुरा हामी प्रतिपक्षहरूको तर्फबाट हाम्रो अडान कायमै छ । सत्तारुढ पार्टीबाट विभिन्न अप्सनहरू सदनलाई सुचारु गर्न स्वयम प्रतिपक्ष दलले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्न विभिन्न अप्सनहरू आएका छन् । सकारात्मक रूपमा आएका छन् । त्यसकारण त्यो अझै निष्कर्षमा नपुगेको हुनाले केही समयका लागि सम्माननीय सभामुखज्यूले बैठक रोकेर यसलाई एक पटक अझै छलफल गरेर आजै छलफल गरेर अगाडि बढ्ने खालको वातावरण बनाई दिनका लागि मैले आफ्नो तर्फबाट पनि, प्रतिपक्षहरूको तर्फबाट पनि यहाँलाई अनुरोध गर्न चाहन्छु ।’

त्यस अवसरमा नेता पुनले प्रतिपक्ष दलहरू संसद नियमित चलोस् भन्नेमा प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 6 =