रास्वपालाई राजेन्द्र लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
‘विगतको भारी बोक्दैनौं भन्नुको अर्थ गम्भीर हुन सक्छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले वैदेशिक मामिलाका विषयमा सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संवेदनशीलता र परिपक्वता अपनाउनुपर्ने बताएका छन् ।
रास्वपाका सभापति रवि लामिछानेको भारत भ्रमणपछि सोमबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लिङदेनले प्रधानमन्त्री बालेन्द्र साह र लामिछानेका पछिल्ला अभिव्यक्तिले विभिन्न अर्थ दिन सक्ने भएकाले सावधानी आवश्यक रहेको बताएका हुन् ।
उनले प्रधानमन्त्रीले संसदमा सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्ति तथा लामिछानेले भारत भ्रमणका क्रममा व्यक्त गरेको ‘हामी विगतको भारी बोक्दैनौं’ भन्ने भनाइप्रति संकेत गर्दै यस्ता विषयमा होशियारी अपनाउन आग्रह गरे ।
लिङदेनले नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएको ऐतिहासिक तथ्य र प्रमाणका आधारमा संसदबाट सर्वसम्मत रूपमा पारित गरी संविधानको अनुसूचीमा समेत समावेश गरिसकेको स्मरण गराउँदै त्यसलाई कमजोर पार्ने खालको सन्देश जान नहुने बताए ।
‘विगतको भारी बोक्दैनौं भन्नुको अर्थ विगतका सबै विषय छाड्ने भन्ने पनि लाग्न सक्छ । लिपुलेक, लिम्पियाधुरा र कालापानीका विषयमा नेपालले स्थापित गरेको अडानलाई समेत नयाँ ढंगले छलफल गर्न सकिने संकेतका रूपमा बुझ्न सकिन्छ,’ उनले भने ।
उनले वैदेशिक सम्बन्ध र राष्ट्रिय हितसँग जोडिएका विषयमा सरकारका गतिविधिको असर सम्पूर्ण देशले व्यहोर्नुपर्ने भएकाले जिम्मेवार र परिपक्व ढंगले प्रस्तुत हुनुपर्ने धारणा राखे ।
लिङदेनले रास्वपाले हाल प्राप्त गरेको जनसमर्थन र लामिछानेले भारत भ्रमणका क्रममा पाएको स्वागतलाई सकारात्मक अवसरका रूपमा उपयोग गर्न पनि सुझाव दिए ।
‘रास्वपाले जनताबाट ठूलो विश्वास पाएको छ । भारत भ्रमणमा पनि सभापतिजीले विशेष प्रकारको स्वागत प्राप्त गर्नुभएको छ । त्यसलाई अवसरमा परिणत गरेर नेपालका हितमा उपयोग गर्नुपर्छ भन्ने सुझाव दिएको छु,’ उनले भने ।
उनले जनताले दिएको मतलाई अवसरका रूपमा प्रयोग गर्दै सरकार र सत्तारुढ दलले राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा समेत जोड दिए ।








