खुश्बु ओलीको प्रश्न: सदन कसका लागि र किन स्थगित गरियो ?

‘संसद् कुनै दलको सुविधाका लागि होइन’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले प्रतिनिधिसभाको बैठक लामो समयसम्म स्थगित गरिनुको औचित्यमाथि प्रश्न उठाएकी छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सदनको गतिरोध अन्त्य गर्न संवादको वातावरण बनाउने, राजनीतिक सहमति खोज्ने र संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्य नै नभएको भए पाँच दिनसम्म बैठक स्थगित गर्नुको वास्तविक कारण के थियो भनेर प्रश्न गरेकी हुन् ।

‘सदन स्थगित भएको आज पाँच दिन भइसक्यो । भोलि सदन खुल्दैछ, तर कुनै उपलब्धिबिनै फेरि त्यही गतिरोधकै बिन्दुबाट सञ्चालन हुने अवस्था देखिएको छ,’ ओलीले लेखेकी छन्, ‘आखिर सदन कसका लागि र कुन प्रयोजनका लागि स्थगित गरियो ?’

उनले प्रतिनिधिसभा नियमावली पारित गर्ने क्रममा प्रतिपक्षी दलका मात्रै नभई सत्तारूढ दलकै सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावलाई समेत बेवास्ता गरिएको भन्दै सदन अवरुद्ध भएको उल्लेख गरेकी छन् । त्यसपछि प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले थप गम्भीर प्रश्न जन्माएको उनको भनाइ छ ।

ओलीका अनुसार प्रतिपक्षी दलहरूले राष्ट्रिय हित, संसदीय सार्वभौमिकता र जनप्रतिनिधिको उत्तरदायित्व सुनिश्चित गर्न निरन्तर संवाद तथा जवाफदेहिताको माग गर्दै आएका थिए । तर, विगत पाँच दिनमा समस्या समाधानका लागि कुनै संवादको आह्वान वा पहल नभएको उनले आरोप लगाएकी छन् ।

उनले संसद् बैठकको लामो स्थगनले राष्ट्रिय मुद्दाभन्दा दलगत आवश्यकतालाई प्राथमिकता दिइएको आशंका जन्माएको समेत बताएकी छन् । यसबीच राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अधिवेशनलाई सहजीकरण गरिएको भन्दै उनले संसद् स्थगनको निर्णयप्रति थप प्रश्न उठाएकी छन् ।

‘नेपालको सार्वभौम संसद् कुनै दल वा व्यक्तिको सुविधाका लागि होइन, जनताको सार्वभौम इच्छाको प्रतिनिधित्व गर्ने सर्वोच्च लोकतान्त्रिक संस्था हो,’ ओलीले उल्लेख गरेकी छन् ।

लोकतान्त्रिक मूल्य र संसदीय मर्यादाको संरक्षणका लागि यस्ता विषयमा संघीय संसद् सचिवालयको गम्भीर ध्यान जान आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =