फेसबुकमा रमाइलो गर्न पाउनु पनि प्रधानमन्त्रीको अधिकार हो: भावना राउत

काठमाडौं । जेनजी अभियन्ता भावना राउतले प्रधानमन्त्री बालेन्द्र शाहमाथि भइरहेको आलोचनाको बचाउ गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिहरूको पनि व्यक्तिगत जीवन हुने बताएकी छन् ।
सामाजिक सञ्जालमा प्रधानमन्त्री र मन्त्रीहरूको हलुका टिप्पणीलाई लिएर आलोचना भइरहेका बेला राउतले नेताहरूलाई पनि रमाइलो गर्ने अधिकार रहेको उल्लेख गरेकी हुन् ।
प्रधानमन्त्री शाहले शनिबार अवकाश पाउन लागेका उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले राजदूत बन्नका लागि आफूलाई सन्देश पठाएको विषयलाई लिएर फेसबुकमा व्यंग्यात्मक स्टाटस लेखेका थिए । उक्त स्टाटसमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जिस्किँदै टिप्पणी गरेपछि सामाजिक सञ्जालमा त्यसको आलोचना भएको थियो ।
यसै विषयमा प्रतिक्रिया दिँदै राउतले राजनीतिज्ञहरूलाई पनि सामान्य मानिसझैँ व्यवहार गर्ने स्वतन्त्रता हुनुपर्ने बताएकी छन् ।
‘हामीमध्ये कसैलाई यो कुरा अनौठो लाग्न सक्छ, तर प्रधानमन्त्रीको पनि व्यक्तिगत जीवन छ, फेसबुक खाता छ, र थोरै रमाइलो गर्ने अधिकार छ । क्याबिनेट मन्त्रीहरूको हकमा पनि त्यस्तै छ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।
राजनीतिमा पुराना अनुहारहरू हेर्न अभ्यस्त समाजका लागि राजनीतिज्ञहरूले वास्तविक मानिसजस्तै व्यवहार गरेको दृश्य अस्वाभाविक लाग्न सक्ने उनको भनाइ छ । युवा नेताहरूको माग गर्ने तर उनीहरू पदमा पुगेपछि अवकाशप्राप्त व्यक्तिले जस्तो व्यवहार गरून् भन्ने अपेक्षा राख्नु उचित नहुने उनले उल्लेख गरेकी छन् ।
यद्यपि प्रधानमन्त्रीले व्यक्तिगत रूपमा सामाजिक सञ्जालमा कसैको विषयमा टिप्पणी गर्दै पछ्याएको जस्तो देखिनु अनावश्यक र केही अस्वाभाविक भएको कुरा आफूले स्वीकार गर्ने राउतले बताएकी छन् । तर सरकारका सामुन्ने रहेका चुनौतीका तुलनामा यो ठूलो मुद्दा नभएको उनको तर्क छ ।
प्रधानमन्त्रीको व्यवहारकै आधारमा उनलाई ‘जँडिया’ वा ‘गाँजेडी’ जस्ता शब्द प्रयोग गरेर टिप्पणी गर्नु उचित नहुने उनको भनाइ छ ।
‘एक व्यक्ति राजनीतिक हुन सक्छ, सार्वजनिक पद धारण गर्न सक्छ, क्लबमा नाच्न सक्छ, बियर पिउन सक्छ, कन्सर्टमा उपस्थित हुन सक्छ, साथीहरूसँग हाँस्न सक्छ, र अझै पनि जिम्मेवारीपूर्वक मन्त्रालय चलाउन पूर्ण रूपमा सक्षम हुन सक्छ,’ राउतले लेखेकी छन् ।
सार्वजनिक जवाफदेहिता कुनै नेताले सप्ताहन्तमा कसरी समय बितायो भन्ने आधारमा नभई उसका निर्णय, नीति र कार्यसम्पादनका आधारमा मूल्यांकन गरिनुपर्ने उनको धारणा छ । राजनीतिलाई आधुनिक बनाउने हो भने नेताहरूबाट सन्तजस्तो व्यवहारको अपेक्षा गर्नुभन्दा उनीहरूले राम्रो शासन दिन सकून् भन्ने अपेक्षा राख्नुपर्ने समय आएको राउतले उल्लेख गरेकी छन् ।








