जेनजी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा गोली कसले र कहाँबाट चल्यो भन्नेकुरा यकिन गर्न नसकिएको बताएको छ ।
नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै आयोगद्वारा गठित ‘भदौ २३ र २४ गतेको आन्दोलन जाँचबुझ समिति’की संयोजक एवं आयोग सदस्य डा. लिली थापाले गोली कसले हानेको हो, कुन गोली कहाँबाट आएको हो ? भन्ने यकिन गर्न नसकिएको स्पष्ट पारेकी हुन्।
आन्दोलनका क्रममा अत्याधिक बल प्रयोग भएको स्पष्ट पारिन् । आयोगले ब्यालेस्टिक र फरेन्सिक रिपोर्टका आधारमा कति मिलिमिटरको गोली प्रयोग भएको थियो भन्ने प्राविधिक तथ्य फेला पारे पनि गोली चलाउने व्यक्तिको पहिचान गर्न भने चुनौती देखिएको जनाएको छ ।
अनुसन्धानका क्रममा प्राप्त फरेन्सिक रिपोर्टलाई आयोगले आफ्नै विशेषज्ञ डा. हरिहर वस्तीमार्फत विश्लेषण गराएको थियो । उनकाअनुसार प्रदर्शनकारीलाई लागेका अधिकांश गोली छाती र पेटभन्दा माथिल्लो भागमा रहेको पाइएको छ ।
उनले भनिन्, ‘चुनौती फरेन्सिक रिपोर्टसँग सम्बन्धित थियो । फरेन्सिक रिपोर्ट आएपछि हामीले आफ्नै विज्ञ पनि राख्यौँ । हाम्रो आफ्नै फरेन्सिक विशेषज्ञले त्यसको विश्लेषण गरेर रिपोर्ट तयार गर्नुभयो । डाक्टर हरिहर वस्तीले दिनुभएको रिपोर्टमा अधिकांश गोली छाती र पेटमाथि लागेको उल्लेख छ । तर ती गोली कसले हानेको हो, कुन गोली कहाँबाट आएको हो, एसटीएफबाट आएको हो कि बाहिरबाट आएको हो भन्नेकुरा भने हामीले यकिन गर्न सकेका छैनौँ । त्यो नै एउटा कठिन चुनौती थियो । गोली कसरी आयो भन्ने विषयमा हामीले यति मात्र भन्नसक्छौँ कि अत्यधिक बल प्रयोग भएको छ । हाम्रो अनुसन्धान दुई आधारमा गरिएको थियो ।
पहिलो, आयोगको म्यान्डेटलाई आधार बनाएर अनुसन्धान गरियो । दोस्रो, २३ गतेको घटना मात्र नभई त्यसपछिका घटनाहरू पनि अध्ययन गरियो । हामीले २५ गतेसम्मका घटनाहरू हेरेका छौँ । २४ र २५ गते धादिङ, बाँके तथा नौबस्तास्थित जेल र बाल सुधार गृहबाट भाग्ने क्रममा लागेका गोलीका घटनाहरू पनि अध्ययन गरी प्रतिवेदनमा समेटिएका छन् । हामीसँग ब्यालेस्टिक रिपोर्ट, फरेन्सिक रिपोर्ट तथा अन्य सम्बन्धित प्रतिवेदनहरू छन् । ती प्रतिवेदनहरूमा कति मिलिमिटरको गोली प्रयोग भएको थियो भन्ने विवरणसमेत उपलब्ध छ ।
तर कसले गोली हानेको हो भन्ने कुरा भने स्पष्ट हुन सकेको छैन । यद्यपि गोली भित्रबाट हानिएको थियो भन्ने निष्कर्षसम्म भने पुगेका छौँ । एसटीएफ त्यहाँ अग्रपङ्क्तिमा तैनाथ थियो । उनीहरू संसद भवनतर्फको क्षेत्रमा रहेका थिए । तर त्यहाँबाट कसले गोली चलायो भन्ने कुरा स्पष्ट छैन । हाम्रो प्रतिवेदनमा एउटा कुरा भने स्पष्ट रूपमा उल्लेख छ,जथाभावी गोली चलाइएको थियो । कुनै विशेष परिस्थितिमा बल प्रयोग गर्नुपर्ने अवस्था आए पनि घुँडामुनि गोली चलाउनुपर्ने भन्ने सिद्धान्त पालना गरिएको देखिँदैन । यो कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ र तपाईंहरूले पनि त्यो पढिसक्नुभएको छ ।’
विशेष कार्यदल (एसटीएफ) अग्रपङ्क्तिमा तैनाथ रहेको र संसद भवन क्षेत्रबाट गोली चलेको देखिए पनि कुन गोली कसले चलाएको हो भन्ने विषयमा यकिन हुन नसकेको प्रतिवेदनमा उनको भनाइ छ । यद्यपि, गोली प्रदर्शनकारीको घेराभित्रैबाट चलेको निष्कर्षमा आयोग पुगेको छ ।
प्रतिवेदनले सुरक्षा निकायबाट गम्भीर त्रुटी भएको औँल्याएको छ । कुनैपनि विशेष परिस्थितिमा बल प्रयोग गर्नुपर्दा घुँडामुनि गोली चलाउनुपर्ने सुरक्षा संयन्त्रको विश्वव्यापी मान्यता र प्रचलित कानुनको सिद्धान्त पालना नगरिएको आयोगको ठहर छ ।








