३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५-५ सय मेगावाट बनाए पुग्छ: मोहन डाँगी

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको बताउँदै उक्त लक्ष्य हासिल गर्न असम्भव नभएको बताएका छन् ।

इप्पानको एक कार्यक्रममा बोल्दै उहाँले लक्ष्य हासिल गर्न आवश्यक पूर्वाधार, नीतिगत सहजीकरण र सरकारी सहयोग उपलब्ध गराउन जरुरी रहेको बताए । १० वर्षभित्र ३० हजार मेगावाटको लक्ष्य प्राप्तिका लागि करिब ६० खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने भए पनि त्यसलाई सकारात्मक दृष्टिकोणबाट हेर्नुपर्ने बताए ।

उनकाअनुसार जलविद्युत क्षेत्र कुनै एक वा दुई व्यक्तिले सञ्चालन गर्ने व्यवसाय नभई सामूहिक लगानी र सहकार्यमा आधारित क्षेत्र हो । त्यसैले लगानी जुटाउन सम्भव छ । हालसम्म साना तथा मध्यम क्षमताका आयोजनाहरूको योगदानबाट निजी क्षेत्रले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउँदै उनले सरकारले लगानीका लागी उचित वातावरण बनाइदिन जरुरी रहेको बताए ।

डाँगीका अनुसार हाल देशमा करिब ४,३०० मेगावाट विद्युत् उत्पादन भइसकेको छ भने ५,७०० मेगावाट निर्माणाधीन अवस्थामा रहेको छ । यी दुवैलाई जोड्दा झन्डै १० हजार मेगावाट क्षमता सुनिश्चित भइसकेको छ । ऊर्जा क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच घनिष्ठ सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

डाँगीले भने ‘सरकारले १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । यो लक्ष्य निकै ठुलो छ । यसका लागि करिब ६० खर्ब रुपैयाँ लगानी आवश्यक पर्नेछ । यदि यसको नकारात्मक पक्ष मात्र हेर्ने हो भने धेरै चुनौतीहरू देखिन्छन् । तर म यसको सकारात्मक पक्ष हेर्छु । जलविद्युत आयोजना कुनै एक वा दुई व्यक्तिले पसल वा रेस्टुरेन्ट खोलेझैँ सञ्चालन गर्ने विषय होइन। यो सामूहिक लगानी र सहकार्यबाट निर्माण हुने क्षेत्र हो । अहिले झन्डै २ सय मेगावाटभन्दा कम तथा मध्यम क्षमताका आयोजनाहरू मिलेर हामीले ३ हजार ५०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन गरिसकेका छौँ । हाल ९९ वटा जलविद्युत कम्पनीहरू सेयर बजारमा सूचीकृत छन् । मैले सरसर्ती हेर्दा अहिले करिब ४ हजार ३०० मेगावाट विद्युत् उत्पादन भइसकेको छ भने ५ हजार ७०० मेगावाट निर्माणाधीन अवस्थामा छ । यी दुवै जोड्दा करिब १० हजार मेगावाट हुन्छ। अब आगामी १० वर्षमा थप २० हजार मेगावाट उत्पादन गर्नुपर्नेछ । मलाई लाग्छ, हाल सूचीकृत रहेका ९९ कम्पनीमध्ये ४० वटा कम्पनीले मात्र आगामी १० वर्षमा औसत ५००–५०० मेगावाटका आयोजना निर्माण गर्न सके भने २० हजार मेगावाट थप उत्पादन गर्न सकिन्छ । त्यसैले यो लक्ष्य असम्भव वा धेरै टाढाको लक्ष्य होइन ।’

डाँगीले इप्पान सरकारसँग हातेमालो गर्दै ऊर्जा क्षेत्रको विकास र उत्पादन वृद्धि अभियानमा सक्रिय रूपमा सहकार्य गर्न प्रतिबद्ध रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =