अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकका केही विषय हटाएर गम्भीर भुल गरे: रमेश मल्ल

काठमाडौँ । विपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका १६ पेज आफैले हटाएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गम्भीर भुल गरेको आरोप लगाएको छ ।

बुधवार संघीय संसद सचिवालय परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उक्त पार्टीका सांसद रमेशकुमार मल्लले संसदको पुँजीको रूपमा दर्जा भइसकेको आर्थिक विधेयकमा आफूखुसी गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले वर्तमान सरकारले एक पछि अर्को विधि मिचिरहेको जिकिर गरे । संसदमा पेस भइसकेको उक्त विधेयक सरकारलाई फिर्ता पठाउने वा नपठाइने भन्ने कुराको निर्णय संसदमा मात्रै गर्न सक्ने सांसद मल्लको भनाई थियो ।

उनले भने ‘दुःखद् कुरा के भयो भने माननीय अर्थमन्त्रीज्यूले जुन बजेट पेस गर्नुभयो । र बजेटको एउटा अंगको रूपमा नेपालको सरकारको जुन अर्थ सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक छ । त्यो विधेयक भनेको मुख्यगरी करको दरहरू हेरफेर गर्ने नै हो त्यो । त्यो विधेयक अर्थमन्त्री संसदमा पेस गरिसकेपछि फेरि अर्थ मन्त्रालयले त्यसलाई संशोधन गरेर अपलोड गयो । जबकि संसदको पुँजी भइसकेपछि, कुनैपनि विधेयक संसदमा दर्ता भइसकेपछि संसदमा पेस भइसकेपछि संसदको पुँजी भइसकेपछि त्यो के गर्ने हो, संसदले नै गर्ने हो । कि संसदले फिर्ता पठाउँछ र उहाँहरूले संशोधन गर्न पाउनुहुन्छ कि संसदमा सत्तारुढ दलका साथीहरूले पनि संशोधन हालेर त्यसलाई सच्याउन सक्नुहुन्छ । प्रतिपक्षले पनि संशोधन हाल्न सक्छ । त्यो व्यवस्था हुँदाहुँदै सरकारले आफैले फेरी संसदमा पठाई सकेको विललाई उहाँहरू आफैले सच्याएर अपलोड गरिएको छ । यो विधि शास्त्रको हिसाबले पनि सरकारको ठुलो मिस्टेक छ । सरकारले एक पछि अर्को विधि किन मिचिरहेको छ ? आज हाम्रो यो प्रश्न हो ।’

अर्थमन्त्री वाग्लेले गत जेठ १५ गते नै उक्त विधेयकमा संसदमा पेस गरेका थिए । संसदमा पेस भइसकेको कुनैपनि विधेयक संसद बाहेक अरू कुनैपनि निकायले फेरबदल गर्न नपाउने व्यवस्था रहेको पनि सांसद मल्लले स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 13 =