प्रधानमन्त्रीको अभिव्यक्तिप्रति हर्कको आपत्ति, संसद्‌मा खोजे बालेनको हाजिरी

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सदनमै आएर जवाफ दिनुपर्ने माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राष्ट्रिय सार्वभौमसत्ता र अखण्डताको विषयमा सत्ता पक्ष र प्रतिपक्ष एक भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति बिना प्रमाण आएको भन्दै त्यसलाई तत्काल सच्याउनुपर्ने माग गरे । यदि उक्त अभिव्यक्ति प्रमाणित गर्न नसकिए ३ करोड नेपाली जनतासँग माफी माग्नुपर्ने उनको भनाइ थियो ।

सांसद राईले प्रधानमन्त्रीको संसदमा उपस्थिति र सदस्यतासम्बन्धी कानुनी तथा संवैधानिक प्रश्नसमेत उठाउँदै नियमावलीअनुसार हाजिरी अभिलेख सार्वजनिक गर्न माग गरे ।

उनले प्रतिनिधि सभा नियमावलीको नियम ४ को उपनियम (१) अनुसार बैठकमा उपस्थित हुनुअघि सदस्यले हाजिरी गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको हाजिरी विवरण स्पष्ट गर्न आग्रह गरे ।

‘यदि उहाँले हाजिरी नगरेको भए उहाँ प्रतिनिधि सभाको सदस्य नरहेको ठहर हुन्छ,’ राईले भने, ‘त्यस्तो अवस्थामा संविधानअनुसार प्रधानमन्त्री पदबाट पनि मुक्त हुने व्यवस्था हुन्छ भन्ने विषयमा ध्यान दिनुपर्छ ।’

उनले प्रधानमन्त्रीले सीमा विवादबारे तथ्य र प्रमाणसहित सदनमा स्पष्ट जवाफ दिनुपर्ने दोहोर्‍याउँदै बिना प्रमाण बोल्ने छुट सरकार प्रमुखलाई नभएको बताए ।

राईले प्रधानमन्त्रीले अभिव्यक्ति आवेगमा दिएको हो भने त्यसलाई स्वीकार गर्दै सार्वजनिक रूपमा माफी माग्नुपर्ने समेत धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =