प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति दिनुभएको छैनः सरकारका प्रवक्ता

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति नदिएको स्पष्ट पारेको छ ।

गत आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री साहले सीमा विवाद समाधानका सन्दर्भमा धारणा राखेका थिए । सोही विषयलाई लिएर उठेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीको भनाइलाई गलत रूपमा व्याख्या गरिएको बताए ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने नभई सीमा विवाद समाधान प्रक्रियामा उठेका विभिन्न दाबीबारे उल्लेख गरेको स्पष्ट पारे ।

प्रवक्ता पोखरेलका अनुसार नेपाल–भारतबीच सीमा विवाद समाधानका लागि विभिन्न संयन्त्रहरू पहिलेदेखि नै स्थापित छन् र ती संयन्त्रमार्फत नै समस्या समाधान हुँदै आएको छ ।

‘परराष्ट्र मन्त्रालयले आवश्यक ब्रिफिङ गरिसकेको छ । नेपाल र भारतबीच सीमा विवाद समाधानका लागि विभिन्न संयन्त्रहरू छन्,’ उनले भने, ‘सीमा विवाद कसरी समाधान गर्ने भन्ने विषयमा प्रधानमन्त्रीज्यूले पनि स्पष्ट पारिसक्नुभएको छ ।’

उनले दुई देशबीच कूटनीतिक नोट आदान–प्रदान हुने गरेको उल्लेख गर्दै सीमा विवादहरू टेबल टकमार्फत समाधान गर्नुपर्ने सरकारको धारणा रहेको बताए ।

प्रवक्ता पोखरेलका अनुसार प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको कुरा विवाद सिर्जना गर्ने नभई संयन्त्रमार्फत उठेका प्रसंगबारे आश्चर्य व्यक्त गर्ने मात्र थियो ।

‘कतिपय स्थानमा भारतले उपभोग गरिरहेको भूमि नेपालतर्फ पर्न सक्ने र नेपालले उपभोग गरिरहेको भूमि भारततर्फ पर्न सक्ने विषय संयन्त्रहरूमा उठेका हुन्,’ उनले भने, ‘यस्ता विषय आपसी छलफलबाट समाधान गर्नुपर्छ भन्ने प्रधानमन्त्रीज्यूको धारणा हो ।’

उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर भइरहेको बहसमा मूल सन्दर्भ पुनः सुन्नुपर्ने पनि सञ्चारकर्मीहरूलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − five =