संसद्मा शक्तिको चरम दुरुपयोग भएको सभापति थापाको आरोप

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संसद्मा नियमावलीको ठाडो उल्लङ्घन भइरहेको बताएका छन् ।
सोमवार लुम्बिनी प्रदेशको कार्यक्रममा बोल्दै उनले आइतबारको प्रतिनिधि सभा नियमावली पारितको विषयलाई संसदीय इतिहासकै लज्जास्पद विषय भएको बताएका हुन् ।
संसद सञ्चालनका लागि बनाइएका कानुन र कार्यविधिहरूलाई बेवास्ता गर्दै शक्तिको चरम दुरुपयोग गरिएको उनको आरोप छ ।
सभापति थापाले संसद सञ्चालन गर्न बनाइएको नियमावली एउटा वैधानिक कानुन भएको स्मरण गराउँदै, संविधान र प्रचलित कानुनभन्दा माथि कोही पनि हुन नसक्ने उल्लेख गरे ।
उनले कुनै अमुक व्यक्तिका लागि विशेष अधिकारको व्याख्या गर्ने र संसदको शक्तिको दुरुपयोग गर्ने कार्य स्वीकार्य नहुने स्पष्ट पारे ।
उनले यस्तो प्रवृत्तिको जनस्तरबाट समेत सक्रिय प्रतिरोध र विरोध भइरहेको बताउँदै संसद्मा नियमावली जबरजस्ती पारित गरिएकोमा आपत्ति जनाए । यस विषयमा अब सम्मानित अदालतले बोल्नुपर्ने सभापति थापाको धारणा छ ।
कार्यपालिका, न्यायपालिका वा व्यवस्थापिका जसले आफ्नो क्षेत्राधिकार मिचे पनि त्यस्तो अवस्थामा न्यायपालिकाले हस्तक्षेप गर्नुपर्नेमा उनले जोड दिए ।








