बजेस्थानीय निर्वाचनमा जनमत बढाउने मनोविज्ञानका आधारमा बजेट: वर्षमान पुन

काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले अस्वाभाविक रूपमा बजेटको आकार बढाएको टिप्पणी गरेका छन् ।
सिंहदरबारमा सञ्चारकर्मीसँग प्रारम्भिक प्रतिक्रिया दिने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले अगामी आर्थिक वर्षको बजेट सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकै वाचाविपरित आएको टिप्पणी गरे ।
उनले स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सत्तारुढ दलले जनमत प्रभावित गर्ने उद्देश्यले बजेटमार्फत वितरणमुखी कार्यक्रम अघि सारेको आरोप पनि लगाए । पुराना दलविरुद्धको जनमत सधैँ कायम नहुन सक्ने मनोविज्ञानका आधारमा वितरणमुखी बजेट ल्याइएको उनको आरोप छ । उनले मुलुकको दुई तिहाइ जनसङ्ख्या निर्भर रहेको कृषि क्षेत्र सुधारका लागि उल्लेख्य कार्यक्रम नआएको भन्दै असन्तुष्टि जनाए ।
साथै युवालाई रोजगारी सिर्जना गर्ने प्रतिबद्धतासहित सत्तामा पुगेको दलले बजेटमा त्यसअनुसारका कार्यक्रम समावेश गर्न नसकेको आरोप लगाए ।
उनले भने ‘बजेट अस्वाभाविक रूपमा बढाएर ल्याइएको छ । यो वितरणमुखी देखियो । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सरकार र सत्तारुढ दलको मनोविज्ञान सधैँ पुराना दलविरुद्धको जनमत नहुन सक्छ । हामीले काम गर्नुपर्छ भनेर बजेट वितरण गरेको खण्डमा स्थानीय तहमा जनमत बनाउन सकिन्छ कि भन्ने मनोविज्ञानले काम गरेको देखिन्छ । अर्को कुरा मुलुकको दुई तिहाइ जनसङ्ख्या निर्भर रहेको कृषि क्षेत्रको सुधारको लागि उल्लेख्य कार्यक्रम आएन । युवाहरूलाई रोजगारी सिर्जनाको कुरा गरेर सत्तामा आएको पार्टीले कार्यक्रममा भने केही पनि ल्याउन सकेन । अहिले ऋण लिएर घिउ खानेजस्तो आएको छ । बजेट रास्वपाको वाचाविपरित छ ।’
उनले अगामी आर्थिक वर्षको बजेट सरकारको घोषणाविपरित रहेको टिप्पणी गरे ।








