गणतन्त्र दिवसमा सम्बोधन नगर्ने प्रधानमन्त्रीको निर्णय गैरजिम्मेवारः काँग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गणतन्त्र दिवस मूल समारोहमा सम्बोधन नगर्ने प्रधानमन्त्री बालेन्द्र साहको निर्णयप्रति आपत्ति जनाएको छ । काँग्रेसले उक्त निर्णयलाई गैरजिम्मेवार र जनताप्रतिको उत्तरदायित्वबोधको कमी भएको टिप्पणी गरेको हो ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संसदीय दलको संयुक्त बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीको अनुपस्थितिबारे प्रश्न उठाइन् ।
उनले भनिन्, ‘गणतन्त्र दिवसमा सरकार प्रमुखको उपस्थिति नहुने भन्ने विषय बाहिर आएको थियो । यस विषयमा बैठकमा छलफल भयो । अहिलेसम्मको अभ्यासमा यस्तो भएको छैन । प्रधानमन्त्री आउन नसक्ने अवस्था भए त्यसको कारण स्पष्ट गर्नुपर्थ्यो । स्वास्थ्य अवस्था, विदेश भ्रमण वा अन्य व्यस्तता भए त्यसबारे जानकारी दिन सकिन्थ्यो ।’
थापाले प्रधानमन्त्रीको निर्णयलाई जनताप्रतिको उत्तरदायित्वको कमीका रूपमा आफूहरूले लिएको बताइन् ।
बैठकमा आगामी जेठ १५ गते सरकारले ल्याउने आर्थिक वर्षको बजेट, संसदमा पार्टीको भूमिका तथा आगामी रणनीतिबारे पनि छलफल भएको उनले जानकारी दिइन् । बजेटलाई कसरी अघि बढाउने भन्ने विषयमा सांसदहरूले आ–आफ्नो धारणा राखेको उनको भनाइ छ ।
त्यसैगरी संसदीय दलभित्र रिक्त रहेका पदपूर्ति र संसदीय समितिका संयोजक चयनबारे पनि बैठकमा छलफल भएको काँग्रेस संसदीय दलले जनाएको छ ।








