‘पहिचान: म को हूँ’ म्युजिक भिडिओ सार्वजनिक (भिडिओ)

काठमाडौँ । नेपाली म्युजिक भिडिओ ‘पहिचान: म को हूँ’ सार्वजनिक भएको छ ।
पहिचान, संघर्ष र आत्मस्वीकारको कथालाई प्रस्तुत गरिएको भिडिओले दर्शकमाझ फरक सन्देश दिन खोजेको छ ।
भिडिओमा एक व्यक्ति अचानक जंगलमा आँखा खोल्दा आफूलाई अपरिचित स्थानमा भेट्छन् । त्यसपछि उनी मानव बस्तीमा प्रवेश गर्छन्, तर मुकुन्डोधारी व्यक्तिहरूले उनलाई निरन्तर पछ्याउँदै दुःख दिन्छन् । विभिन्न व्यक्तिबाट पीडा र तिरस्कार भोगेपछि अन्ततः उनी आफ्नो पहिचान परिवर्तन गर्न बाध्य हुन्छन् । त्यसपछि भने उनी अझ खुसी, आत्मविश्वासी र स्वतन्त्र देखिन्छन् ।
सार्वजनिक भिडिओले मानिसको पहिचान जे जस्तो भए पनि त्यो प्रकृतिकै एउटा हिस्सा भएको सन्देश कलात्मक ढंगले प्रस्तुत गरेको छ ।
भिडिओमा आकाश नेपाली फिचर्ड छन् । उनको अभिनय र नृत्यले भिडिओलाई थप प्रभावशाली बनाएको छ । उनी लामो समयदेखि कला क्षेत्रमा सक्रिय रहँदै विभिन्न नाटक निर्देशन तथा म्युजिक भिडिओमा अभिनय गर्दै आएका छन् ।
गीतमा रिना गिरीको शब्द तथा संगीत रहेको छ भने निर्देशन भूपी लुहार र सुस्मिता कुँवरले गरेका हुन् । भिडिओको लेखन तथा परिकल्पना सरिता कठायतको रहेको छ ।
हेर्नुहोस् भिडिओ:








