देशभरका अस्पतालमा डायलासिस सेवा विस्तार गर्न सांसद खातुनको माग

काठमाडौं । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले देशभरका सरकारी अस्पतालहरूमा डायलासिस मेसिनको पर्याप्त व्यवस्था गरी सेवा विस्तार गर्न सरकारसँग माग गरेकी छन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिद्धिकीले राप्ती प्रादेशिक अस्पतालमा डायलासिस मेसिनको अभावका कारण बिरामीहरूले ठूलो सास्ती भोग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

उनले मेसिन अभावकै कारण बिरामीहरू उपचारका लागि काठमाडौं धाउन बाध्य भएको र त्यसले उनीहरूमाथि थप आर्थिक भार परेको बताइन् ।

‘सेवा प्रवाह, नागरिकको भलाइ र अधिकारको संरक्षणको सन्दर्भमा मानव अधिकारको प्रत्याभूति हुनुपर्दछ,’ सांसद सिद्धिकीले भनिन्, ‘तर राप्ती प्रादेशिक अस्पतालमा डायलासिस मेसिनको कमीले बिरामीहरू आर्थिक समस्या झेल्दै काठमाडौं धाउनुपर्ने अवस्था छ ।’

उनले बिरामी तथा उनीहरूका परिवारले भोगिरहेको समस्यालाई मध्यनजर गर्दै देशभरका कुन–कुन अस्पतालमा डायलासिस मेसिन आवश्यक छ भन्नेबारे अध्ययन गर्न सरकारलाई सुझाव दिइन् ।

सभामुखमार्फत नेपाल सरकारलाई आग्रह गर्दै सांसद सिद्धिकीले आगामी दिनमा आवश्यकताअनुसार सबै सरकारी अस्पतालमा डायलासिस मेसिन उपलब्ध गराउन माग गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =