प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन वा आफूलाई निष्कासन गर्न हर्कको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग जोडदार माग गरेका छन् ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष राईले नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्न सभामुखसँग आग्रह गरे ।
सभामुखलाई सम्बोधन गर्दै उनले लामो समयदेखि आफूहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै आए पनि प्रभावकारी ‘रुलिङ’ हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
राईले सदनको गरिमा कायम राख्न प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउनुपर्ने उल्लेख गर्दै अन्यथा नियमावलीको नियम ३१ को उपनियम (१) प्रयोग गरी आफूलाई सदनबाट निष्कासन गर्न चुनौती दिए ।
‘प्रधानमन्त्रीज्यूलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको ३१ (१) लागू गरेर मलाई यो सदनबाट निष्कासन गरी सदनको गरिमा बढाइदिनुहोस्,’ उनले भने ।
उनले थपे, ‘कि त प्रधानमन्त्रीज्यूलाई यहाँ बोलाइदिनुपर्यो, होइन भने मलाई निस्केर जा भन्नुपर्यो ।’
राईले सभामुखको कार्यगत बाध्यता र परिस्थितिप्रति आफू जानकार रहेको बताए पनि नियमको पालना नहुँदा सदनको मर्यादामा आँच पुगेको टिप्पणी गरे ।








