प्रधानमन्त्रीलाई संसदबाट भाग्ने छुट छैनः नीता घतानी

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद नीता घतानीले प्रधानमन्त्री बालेन्द्र साहले लोकतान्त्रिक मूल्य र मान्यताको अपमान गरिरहेको आरोप लगाएकी छन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद घतानीले प्रधानमन्त्री साह जनताका प्रश्नबाट पन्छिन खोजेको भन्दै आपत्ति जनाइन् । उनले संसदमा सरकारलाई प्रश्न गर्न नहुने प्रवृत्ति विकास हुँदै गएको टिप्पणी गर्दै त्यसलाई लोकतन्त्रका लागि खतरनाक संकेतको रूपमा चित्रण गरिन् ।

घतानीले प्रधानमन्त्री साहलाई आफ्नो कामप्रति विश्वास भए सदनमा उपस्थित भएर उठेका प्रश्नको जवाफ दिन चुनौती दिइन् । ‘लोकतन्त्र अन्ध समर्थनको व्यवस्था होइन, नागरिक केवल ताली बजाउने भीड पनि होइनन्,’ उनले भनिन् ।

उनले सांसदहरू जनताको प्रत्यक्ष आवाज भएको उल्लेख गर्दै सरकारलाई निरन्तर जवाफदेही बनाउने जिम्मेवारी संसदको भएको बताइन् । ‘प्रधानमन्त्री लोकप्रिय हुन सक्नुहुन्छ, सरकार शक्तिशाली पनि हुन सक्छ । तर सदन र जनताको प्रश्नभन्दा माथि कोही पनि हुन सक्दैन,’ उनले भनिन् ।

सांसद घतानीले प्रधानमन्त्री साहले जनताका प्रश्नको सामना गर्न हिच्किचाउनु नहुने उल्लेख गर्दै सत्ता र शक्तिको दम्भ दीर्घकालीन नहुने चेतावनी समेत दिइन् । ‘जनताको आवाज र लोकतन्त्र सधैं जीवित रहन्छ । लोकतन्त्रको अपमान कदापि सह्य हुँदैन,’ उनले बताइन् ।

उनले प्रधानमन्त्रीलाई जनताको प्रश्नबाट भाग्ने छुट नभएको पनि स्पष्ट पारिन् । साथै, सदन र जनताको प्रश्नभन्दा माथि कुनै पनि व्यक्ति हुन नसक्ने भन्दै प्रधानमन्त्री साहप्रति कटाक्ष गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − four =