नारायणी नदीमा आपतकालिन तटबन्ध निर्माण गरिने

चितवन । नारायणी नदी किनारमा वर्षातमा बाढीले क्षति पुर्‍याउन सक्ने ठाउँमा आपतकालिन तटबन्ध गर्न बोलपत्र आह्वान गरिएको छ ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुरले चितवनतर्फको भागमा तटबन्ध गर्न रु १६ करोड ५० लाख बराबरको बोलपत्र आह्वान गरेको हो ।

आयोजनाका सूचना अधिकारी सागर पौडेलका अनुसार तीन प्याकेजमा बोलपत्र आह्वान गरिएको छ । भरतपुर महानगरपालिका–१६ को सिद्धि गणेश मन्दिर नजिक तटबन्ध गर्न बोलपत्र आह्वान गरिएको छ ।

यस्तै महानगरपालिकाकै वडा नम्बर १७ को मजुवा र बाढीको बढी जोखिम देखिएका ठाउँमा तटबन्ध गर्ने तयारी छ । सूचना अधिकारी पौडेलका अनुसार आउँदो वर्षको जेठ २५ गतेसम्म काम सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको हो ।

सिद्धि गणेश मन्दिर वरपर तटबन्ध भत्किएको छ भने मजुवा क्षेत्रमा तटबन्ध गर्न बाँकी छ । यो बजेटबाट ५०० मिटर मर्मत एवं नयाँ तटबन्ध निर्माण गरिने छ ।

यसअघि चितवनतर्फको ३५ किलोमिटर नारायणी किनारमध्ये २० किलोमिटर क्षेत्रमा तटबन्ध हुँदै छ । यसै आर्थिक वर्षमा मनसुनजन्य विपत् शीर्षकमा रु पाँच करोडको लागतमा भरतपुर महानगरपालिका–२८ को तामाङ टोलमा तटबन्धको काम भइरहेको छ ।

वर्षातमा नारायणीमा पानीको सतह बढेसँगै हुन सक्ने क्षतिको आँकलन गरी तटबन्ध मर्मत र नयाँ तटबन्ध निर्माणका लागि बजेट निकासा गरिएको हो ।

निर्वाचनको समयमा चितवन क्षेत्र नम्बर ३ मा मतदाताकहाँ पुग्दा कानुनमन्त्री सोविता गौतमसँग नदी तटिय क्षेत्रका बासिन्दाले तटबन्धको माग गरेका थिए ।

मन्त्री गौतमले नारायणी नदी तटिय क्षेत्रमा बसोबास गर्ने बासिन्दाले भोगिरहेको जोखिम, बाढीजन्य क्षतिलगायतका समस्याका कारण नारायणी पुलदेखि गोलाघाटसम्मका अत्यन्त जोखिमयुक्त स्थानमा मनसुनबाट हुनसक्ने विपद्को पूर्वतयारीस्वरूप तटबन्ध निर्माणकार्य गर्न लागिएको बताए ।

स्थानीयले पटक–पटक गुनासो तथा ध्यानाकर्षण गराउँदै आएकाले यसलाई मध्यनजर गर्दै सङ्घीय बजेट व्यवस्थापन भई सोमबार बोलपत्र आह्वान गरिएको उनले बताए । तटबन्ध गर्न बाँकी रहेका ठाउँमा आगामी वर्ष बजेट विनियोजन गरी काम अघि बढाउन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + ten =