आर्थिक कूटनीति अब नेपालको प्राथमिकता हुनुपर्छ: परराष्ट्र सचिव राई

काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईले बदलिँदो विश्व परिवेशमा नेपालको परराष्ट्र सम्बन्धलाई परम्परागत राजनीतिक दायराभन्दा माथि उठाउँदै आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

परराष्ट्र सेवा दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै सचिव राईले राष्ट्रिय हित, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाललाई सशक्त बनाउन आर्थिक तथा सार्वजनिक कूटनीतिको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

उनले वैदेशिक लगानी आकर्षित गर्ने, व्यापार प्रवर्द्धन गर्ने, पर्यटन विस्तार, प्रविधि हस्तान्तरण तथा उद्यमशीलता विकासलाई नेपालको कूटनीतिक प्रयासको केन्द्रमा राख्नुपर्ने आवश्यकता औँल्याए ।

नेपालको ‘सफ्ट पावर’ बारे चर्चा गर्दै सचिव राईले नेपालको सभ्यता, सांस्कृतिक विविधता, आध्यात्मिक परम्परा, प्राकृतिक सौन्दर्य तथा नेपाली जनताको सहनशीलतालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने बताए । उनले यी विशेषताहरूको सही परिचालनले विश्व समुदायमा नेपालको प्रतिष्ठा र गरिमा थप उचो हुने विश्वास व्यक्त गरे ।

परराष्ट्र मन्त्रालयको आन्तरिक सुदृढीकरणबारे बोल्दै उनले मन्त्रालयका सबै तहका कर्मचारीहरूको भूमिका अपरिहार्य रहेको उल्लेख गरे । वरिष्ठ अधिकारीहरूले मार्गनिर्देशन गर्ने र युवा अधिकारीहरूले नवीन ऊर्जा तथा सिर्जनशीलता प्रदान गर्ने भन्दै उनले पेशागत मर्यादा, इमानदारिता र जवाफदेहितामा जोड दिए ।

उनले भने, ‘आजको युगमा कूटनीति केवल राजनीतिक भेटघाटमा मात्रै सीमित छैन । विभिन्न राष्ट्रहरूबीच लगानी र प्रविधिका लागि प्रतिस्पर्धा भइरहेको अवस्थामा नेपालले आफ्ना कूटनीतिक प्रयासलाई राष्ट्रिय विकास र आर्थिक अवसर सिर्जनामा केन्द्रित गर्नुपर्छ । हामी जुनसुकै तह वा जिम्मेवारीमा रहे पनि अन्तिम लक्ष्य राष्ट्रसेवा र राष्ट्रहितको संरक्षण नै हुनुपर्छ ।’

सचिव राईले परराष्ट्र मन्त्रालयलाई आधुनिक, सक्षम र मानवीय भावनाले ओतप्रोत संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले परराष्ट्रमन्त्रीको नेतृत्वमा मन्त्रालयले संस्थागत सुदृढीकरण र रणनीतिक योजनाअनुसार काम गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 6 =