चलचित्र र पत्रकारिता क्षेत्र एकअर्काका परिपूरक हुन्: करिष्मा मानन्धर

काठमाडौं । अभिनेतृ करिष्मा मानन्धरले नेपाली चलचित्र क्षेत्र र पत्रकारिता क्षेत्र एकअर्काका परिपूरक रहेको बताएकी छन् । लामो समयदेखिको सहकार्यलाई स्मरण गर्दै उनले चलचित्रलाई दर्शकमाझ पु¥याउने प्रमुख माध्यम सञ्चार जगत नै भएको उल्लेख गरिन् ।
उनले ‘कामना’ प्रकाशन तथा ब्ल्याक एन्ड ह्वाइट पत्रकारिताको सुरुवातसँगै चलचित्र र पत्रकारिता क्षेत्रले समानान्तर रूपमा विकासको यात्रा तय गरेको धारणा राखिन् । पत्रकार र कलाकारबीचको सम्बन्धलाई ‘प्रहरी र जनता’ को मित्रतासँग तुलना गर्दै उनले पत्रकारहरू नै चलचित्र र दर्शकबीचको महत्वपूर्ण सेतु भएको स्पष्ट पारिन् ।
अभिनेतृ मानन्धरले कुनै पनि क्षेत्रको स्वरूप र छवि जनतामाझ कसरी प्रस्तुत हुन्छ भन्ने कुरा पत्रकारितामै निर्भर रहने बताइन् ।
उनले भनिन्, “चलचित्र क्षेत्रको उदय र पत्रकारिताको सिक्ने चरण उस्तै समयमा सुरु भएको हो । यस क्रममा कलाकार र पत्रकार दुवै पक्षबाट केही त्रुटिहरू भएका हुन सक्छन्, तर हामीले सँगसँगै सिकेर यहाँसम्म आइपुगेका हौँ ।”
नेपाली चलचित्रप्रति दर्शकको चासो कायम राख्न सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले चलचित्र क्षेत्रलाई मर्यादित र व्यावसायिक बनाउन पत्रकारिता क्षेत्रको निरन्तर साथ र रचनात्मक सहयोग आवश्यक रहेकोमा जोड दिइन् ।








