सीमित स्रोतका बाबजुद खेलाडीको सम्मानमा कमी हुन दिँदैनौँ: खेलकुदमन्त्री

काठमाडौँ । शिक्षा, खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।
बिहीबार मन्त्रालयमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जितको शुभकामनासहित बिदाइ गर्दै उनले यस्तो बताएका हुन् ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीका लागि आयोजित बिदाइ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले खेलाडीहरूको मनोबल उच्च बनाउन सरकारले काम गरिरहेको बताए । मन्त्री पोखरेलले नेपाली महिला फुटबल टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनको प्रशंसा गरे ।
टोलीको सुधारोन्मुख खेलले देशको शिर ठाडो पारेको उल्लेख गरे । राज्यले खेलकुद क्षेत्रलाई जति गर्नुपर्ने हो, त्यति गर्न नसकेकोप्रति आत्मआलोचना गर्दै उपलब्ध सीमित स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै खेल क्षेत्रको विकास र खेलाडीको वृत्तिविकासमा सरकार सधैँ प्रयत्नशील रहने बताए ।
टोलीमा अनुभवी र नयाँ खेलाडीहरूको सन्तुलित सम्मिश्रण रहेको प्रति खुसी व्यक्त गर्दै मन्त्रीले वरिष्ठ खेलाडीहरूलाई अनुजहरूलाई मार्गनिर्देशन गर्न र नयाँ खेलाडीहरूलाई अग्रजबाट सिक्न आग्रह गरे । उक्त अवसरमा मन्त्री पोखरेलले चोटका कारण टोलीमा पर्न नसकेका खेलाडीहरूको योगदानको स्मरण गर्दै उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे । आफ्नो मन्तव्यको अन्त्यमा मन्त्री पोखरेलले टोलीलाई उच्च मनोबलका साथ मैदानमा उत्रन आग्रह गरे ।
मन्त्री पोखरेलले भने ‘राज्यले खेलकुद क्षेत्रलाई जति गर्नुपर्ने हो, त्यति गर्न सकेको छैन भन्नेमा म आत्मआलोचना गर्न चाहन्छु । तर उपलब्ध सीमित स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै खेल क्षेत्रको विकास र खेलाडीको वृत्तिविकासमा सरकार सधैँ प्रयत्नशील रहनेछ । तपाईँहरूले मैदानमा देखाउनुभएको सुधार र मेहनत तारिफयोग्य छ । आज यो हलमा देखिएको ऊर्जा र आत्मविश्वासले यस पटक हामी उपाधि जितेरै आउँछौँ भन्नेमा म पूर्ण विश्वस्त छु । मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन दिनुहोस्, जीत अवश्य सम्भव छ। तपाईँहरू च्याम्पियन बनेर फर्किएपछि विमानस्थलमा स्वागत गर्न म स्वयं उपस्थित हुने प्रतिज्ञा गर्दछु ।’
बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारी, अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का प्रतिनिधि र खेलाडीहरूको उपस्थिति रहेको थियो ।








