मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश घोषणा गर्ने गरी आवश्यक कार्यविधि निर्माणको काम छिट्टै सम्पन्न गरेर कार्यान्वयनमा लैजाने बताएका छन् ।
मानव सेवा आश्रमले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा सहभागी टोलीसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यकामा आज छलफल गर्दै मुख्यमन्त्री आचार्यले मानवता र करुणायुक्त प्रदेश निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
उनले सही सडक र सही सङ्गत मिले मानिस सही ठाउँमा पुग्न सक्ने उल्लेख गर्दै सडक आश्रित तथा बेसहारा मानवको संरक्षण राज्य र समाज दुवैको साझा दायित्व भएको धारणा राखे ।
मानव सेवा आश्रमले गत वैशाख २७ गतेदेखि सुरु गरेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा यही जेठ २२ गतेसम्म सञ्चालन हुने जनाएको छ । यात्राको क्रममा हालसम्म ११६ सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरिएको जानकारी दिइएको छ ।
आश्रमका अनुसार यात्रा एक महिनासम्म सञ्चालन हुनेछ । उद्धार गरिएका व्यक्तिलाई संरक्षण, उपचार, पालनपोषण तथा पारिवारिक पुनर्मिलनका लागि आश्रमका सेवा केन्द्रमार्फत व्यवस्थापन गरिनेछ ।
मानव सेवा आश्रम खुला आकाशमुनि सडक पेटी तथा सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताउन बाध्य सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त तथा अभिभावकविहीन व्यक्तिको उद्धार र संरक्षणमा काम गर्दै आएको छ ।
वि.सं २०६९ भदौ १३ गते मकवानपुरको हेटौँडाबाट औपचारिक सेवा सुरु गरेको आश्रमले हाल सातै प्रदेशका १९ जिल्लामा रहेका २५ सेवा केन्द्रमार्फत सेवा सञ्चालन गर्दै आएको छ ।
यात्रामा आनि छोइङ डोल्मा अध्यक्ष रहेको फाउण्डेशनको सहयोग रहेको छ । गायिका डोल्मा स्वयं यात्रामा सहभागी भएका छन् ।








