मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’

काठमाडौं । मितेरी साइनो र संस्कृतिलाई झल्काउने मनोरञ्जनात्मक चलचित्र ‘मित्रज्यू’ यही माघ ८ गतेदेखि दर्शकमाझ आउने भएको छ ।

अभिनेता सौगात मल्ल र दयाहाङ राई अभिनित सो चलचित्रले विशेष गरी नेपालको ग्रामीण परिवेश, रहनसहन र संस्कृतिलाई कलात्मक ढङ्गबाट समेट्न प्रयास गरेको निर्माता पक्षको भनाइ छ ।

सो चलचित्र प्रदर्शन हुनुअघि आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अभिनेता राईले नेपालको सामाजिक परिवेश र संस्कृतिलाई झल्काउँदै मनोरञ्जन दिन चलचित्र ‘मितज्यू’ सफल हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘यो चलचित्र हाम्रो मित लगाउने संस्कृतिलाई लिएर सामाजिक कथामा तयार गरिएको हो । यसले मनोरञ्जनसँगै हाम्रो संस्कृतिलाई बुझ्ने मौका दिन्छ । नेपालमा विभिन्न संस्कृति छन्, नयाँ पुस्तामा ती संस्कृति बिस्तारै कम भएको पाइन्छ, चलचित्रका माध्यमबाट हाम्रा सामाजिक मूल्यमान्यता र संस्कृतिलाई पुस्तान्तरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’

यसैगरी अभिनेता मल्लले ग्रामीण परिवेशमा मितको सम्बन्ध विशेष रहेको चर्चा गर्दै चलचित्र ‘मितज्यू’ मा भने दुई मितबिचको झगडा र त्यसको परिणामलाई रोचक ढङ्गले प्रस्तुत गरिएको जानकारी दिए ।

‘यो चलचित्र फरक छ, हाम्रो मितेरी साइनोको पृष्ठभूमिमा एउटा राम्रो कथा भनिएको छ । हामीले गर्ने कामले मनोरन्जनसँगै थोरै सामाजिक दायित्व निर्वाह गरोस् भन्ने छ, यो चलचित्रमा ती दुवै पक्ष समेटिएका छन्’, अभिनेता मल्लले भने ।

जनक घर्तीमगरले निर्माण गर्नुभएको चलचित्रलाई अनिल बुढामगरले निर्देशन गरेका छन् । नेपाली गाउँको संस्कार, संस्कृति, रहनसहन र मित्रताको कथामा आधारित रहेर चलचित्र तयार गरिएको निर्देशक मगरले जानकारी दिए ।

चलचित्रमा अभिनेताद्वय राई र मल्लसँगै अभिनेत्री तेरिया फौजा मगर, खड्गबहादुर पुनमगर, शिशिर वाङ्देल, पुष्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा र स्मिता लामिछाने लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =