सदनमा शिष्टता कायम गर्न सांसद बरालको माग (भिडिओ)

काठमाडौं । नेकपा (एमाले) की सांसद यशोदाकुमारी बरालले हुम्लाको चंखेली गाउँपालिकामा गएको भीषण पहिरोका पीडितलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद बरालले प्राकृतिक विपत्तिका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
सांसद बरालले हुम्ला जिल्लाको चंखेली गाउँपालिका वडा नम्बर ५ मा गएराति गएको पहिरोले विद्यालय, बस्ती र खेतीपातीमा ठूलो क्षति पु¥याएको जानकारी दिइन् । प्राकृतिक विपत्तिको विषयका साथै सांसद बरालले सदनभित्र सांसदहरूले प्रयोग गर्ने भाषा र व्यवहारप्रति पनि आपत्ति जनाइन् ।
संसदको नियमावलीको नियम २१ (घ) मा उल्लेखित शिष्टताको पालना नभएको भन्दै उनले केही माननीय सदस्यहरूले पुराना राजनीतिक दलहरूप्रति अशिष्ट र अमानवीय व्यवहार गरिरहेको आरोप लगाइन् ।
उनले विपक्षी दलका सदस्यहरूले बोलेका कुरामा सभामुखको ध्यान जाने तर सत्ता पक्षका सदस्यहरूले अमर्यादित बोल्दा बेवास्ता भइरहेको गुनासो समेत गरिन् ।
सदनमा उपस्थित सबै २७५ जना सांसदहरू जनताको आवाज बोल्न आएका र सबैको हैसियत बराबर रहेको उल्लेख गर्दै उहाँले संसद् वादविवाद वा प्रतिष्पर्धा गर्ने थलो नभएको स्पष्ट पारिन् ।








