सुकुम्वासी परिवारलाई १५ हजार राहतले पुग्दैन, बढाउनु पर्छ: एमाले

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) ले घरबासविहीन अवस्थामा पुगेका सुकुम्वासीहरूका प्रतिघरपरिवारलाई जेठ, असार र साउन महिनाका लागि १५/१५ हजारका दरले राहत दिने सरकारको निर्णय तत्काल सच्याउनुपर्ने माग गरेको छ ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उक्त पार्टीका सांसद गुरुप्रसाद बरालले उनीहरूले जीवन धान्न पनि नपुग्ने रकम भएकाले उक्त रकम बढाउन सरकारसँग माग गरेका हुन् ।
उनले अस्थायी बसोबासका लागि उनीहरूका प्रतिघरपरिवारलाई २५ हजारका दरले राहत दिने सरकारको निर्णयमा पनि आपत्ति जनाए । सरकारको यो निर्णय पनि सुकुम्वासीमाथिको ठूलो हमलाको रूपमा आएको उपाध्यक्ष बरालको जिकिर थियो ।
उनले भने ‘हिजोमात्रै नेपाल सरकार एउटा गम्भीर र त्रुटिपूर्ण निर्णय गरेको छ । सरकार विना तयारी भरपर्दो बसोबासको व्यवस्था नगरी सुकुम्वासीहरूलाई आफ्नो बसोबास गरिरहेको ठाउँबाट बाहिर निकालिएको छ । अनि सरकार भन्छ, यो जेठ, असार र साउन तीन महिना तिमीहरूले १५÷१५ हजार रुपैयाँ पाउनेछौँ । अर्थात् ५ जनाको परिवार हरेक सदस्यलाई ३ हजार अर्को अर्थमा भन्ने हो भने महिनाको एक सय रुपैयाँले दिनको एक सय रुपैयाँले कसरी एउटा परिवार काठमाडौँको आसपासमा बाँच्न सक्छ सभामुख महोदय । यो सुकुम्वासीमाथि गरिएको अत्यन्तै ठूलो अमानवीय हमला हो । अर्कोतर्फ सरकार भन्दै छ–एक मुष्ट २५ हजार दिन्छु अस्थायी बसोबासका लागि । सभामुख महोदय, अस्थायी बसोबास त उनीहरू जहाँ बसेका थिए, त्यही थियो । स्थायी बसोबासका लागि अव सरकारले नयाँ व्यवस्था गर्नुपर्नेमा उसले अहिले अस्थायी बसोबास गरेको ठाउँबाट बाहिर निकालेको छ । होल्डिङ सेन्टरहरूमा उनीहरू अत्यन्तै अमानवीय ढंगले बाँचिरहेका छन् । सुत्केरी महिला कुपोषणको सिकार भएका छन् । युवाहरूलाई मानसिक स्वास्थ्यको समस्या भएको छ । बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । उच्च शिक्षा हासिल गर्ने युवाहरू पनि अत्यन्तै अप्ठ्यारोमा छन् । महिला, पुरुष अलगअलग ठाउँमा राखिएको छ । परिवार एकै ठाउँमा बस्नुपर्ने प्रबन्ध समेत गरेको छैन सभामुख महोदय ।’
सांसद बरालले होल्डिङमा पनि सुकुम्वासीहरूलाई अमानवीय ढंगले राखेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे ।








