सरकारलाई संसदप्रति अझ बढी जवाफदेही हुनैपर्ने व्यवस्था गरौँः युवराज दुलाल

काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्ने बताएका छन् । उनले संसदलाई जनताको समस्या समाधान गर्ने प्रभावकारी थलोका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।

सोमबार प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रमुख सचेतक दुलालले संसदीय व्यवस्थामाथि विभिन्न टिकाटिप्पणी हुने गरेको उल्लेख गर्दै त्यसलाई व्यवहारबाट गलत साबित गर्नुपर्ने बताए ।

उनले संसदलाई केवल बहस गर्ने स्थान नभई काम गर्ने र जनताका आवाज सम्बोधन गर्ने जिम्मेवार संस्थाका रूपमा विकास गर्नुपर्ने धारणा राखे ।

दुलालले भने, “संसदीय व्यवस्थामाथि धेरै टिकाटिप्पणी छन् । यसलाई गफ गर्ने अखडाको रूपमा पनि आलोचना गरिन्छ । त्यसकारण यो गफ गर्ने अखडा होइन, काम गर्ने थलो हो र जनताका प्रतिनिधिहरूको मर्यादित तथा गौरव गर्नलायक स्थान हो भन्ने रूपमा स्थापित गर्नुपर्छ ।”

उनले विश्वका विभिन्न मुलुकमा संसदीय व्यवस्थामाथि प्रश्न उठ्ने गरेको उल्लेख गर्दै नेपालको संसद भने त्यस्ता आलोचनाबाट मुक्त हुने गरी सञ्चालन हुनुपर्ने बताए ।

प्रमुख सचेतक दुलालले संसदको सर्वोच्चता कायम राख्न तथा जनप्रतिनिधिले उठाएका जनताका भावना र मुद्दालाई सम्बोधन गर्न सरकारलाई संसदप्रति उत्तरदायी बनाउन आवश्यक रहेको धारणा राखे ।

उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई संसदप्रति जवाफदेही र उत्तरदायी बनाउने विषय नियमावलीमै स्पष्ट रूपमा समेटिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =