सरकारले मानव तस्करीमा संलग्नहरुमाथि कडा कारबाही गर्नुंपर्छः खुस्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्वु ओलीले मानव तस्करीमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।
सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले वैदेशिक रोजगारीको नाममा नेपाली महिलाहरूलाई कुवेतलगायत खाडी मुलुकमा बेचबिखन भइरहेको जिकिर गरिन् । उनका अनुसार मानव तस्करहरूले नेपाली महिलालाई १० देखि १२ लाख रुपैयाँसम्ममा बिक्री गर्ने काम गरिरहेका छन् ।
प्रमुख सचेतक ओलीले सरकारले घरेलु कामदारका रूपमा खाडी मुलुकमा नेपाली महिलालाई पठाउन प्रतिबन्ध लगाए पनि तस्करहरूले विभिन्न वैकल्पिक बाटो प्रयोग गरेर विदेश पठाउने कार्य नरोकिएको बताइन् । उनले भारत हुँदै सीमा पार गराउने, तान्जानियालगायत अफ्रिकी मुलुकलाई ट्रान्जिट बनाएर खाडी मुलुक पुर्याउने काम भइरहेको उल्लेख गरिन् ।
उनले संसदमा भनिन्, “प्रतिबन्धले घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जाने क्रम रोकिएको छैन । हाम्रा महिलाहरूलाई खाडीसम्म पुर्याउन एजेन्टहरूले विभिन्न वैकल्पिक रुट प्रयोग गरिरहेका छन् । अहिले तस्करहरूले कुवेतमा १० देखि १२ लाखमा नेपाली महिलाहरू बेच्ने काम गरिरहेका छन् ।”
ओलीले शर्मिला दर्जी नामकी नेपाली महिलाको कुवेतमा तत्काल खोजी गर्न सरकारको ध्यानाकर्षणसमेत गराइन् । उनले उक्त घटना प्रतिनिधिमूलक मात्रै भएको उल्लेख गर्दै यस्ता हजारौं घटना रहेको दाबी गरिन् ।
उनले सन् २०१७ देखि नेपाल सरकारले घरेलु कामदारका रूपमा नेपाली महिलालाई विदेश जान लगाएको प्रतिबन्धले अपेक्षित परिणाम दिन नसकेको टिप्पणी गरिन् । शोषणबाट सुरक्षा दिने उद्देश्यले लगाइएको प्रतिबन्ध व्यवहारमा प्रभावकारी हुन नसकेको उनको भनाइ थियो ।
प्रमुख सचेतक ओलीले मानव बेचबिखनमा संलग्न एजेन्ट र गिरोहमाथि कडा निगरानी र कारबाही आवश्यक रहेको बताउँदै वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपाली नागरिकको उद्धारमा सरकारले ढिलाइ गर्न नहुने धारणा राखिन् ।








