राजनीतिलाई ‘फोहोरी खेल’ भन्दै आफ्नै सन्तानलाई टाढा राख्दा युवा सहभागिता घट्योः ऐन महर

काठमाडौं । नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले युवा अवस्था केवल उमेर समूह मात्र नभई विचार, अनुशासन र दृष्टिकोणको संगम भएको बताएका छन् ।

आइतबार आयोजित मदन–आश्रित स्मृति सभा लाई सम्बोधन गर्दै उनले जनताको बहुदलीय जनवाद ले परिकल्पना गरेको युवा उमेर र विचारको फ्युजन भएको उल्लेख गरे ।

महरले पछिल्लो समय पार्टीका गतिविधि र आन्दोलनहरूमा युवा पुस्ताको उपस्थिति घट्दै गएको भन्दै गम्भीर समीक्षा आवश्यक रहेको बताए ।

उनका अनुसार राजनीतिक दल र नेताहरूले नयाँ पुस्तासँग प्रभावकारी ‘कनेक्सन’ र ‘कम्युनिकेसन’ बनाउन नसकेको स्वीकार गर्नुपर्ने अवस्था आएको छ ।

‘युवा भनेको उमेर मात्र होइन, यो विचार, अनुशासन र परिवर्तनप्रतिको समर्पण पनि हो,’ उनले भने, ‘हाम्रा कार्यक्रममा ९० प्रतिशतभन्दा बढी सहभागी ४० वर्ष माथिका देखिन्छन्, जेनजी पुस्ताको उपस्थिति न्यून हुनु हाम्रो कमजोरी हो ।’

महरले नयाँ पुस्तालाई आकर्षित गर्न पार्टीको कार्यशैली र सञ्चार पद्धति सुधार गर्नुपर्नेमा जोड दिए । उनका अनुसार नेताहरूले आफ्नै परिवार र आफन्तलाई समेत राजनीतिबाट टाढा राख्ने प्रवृत्तिले पनि युवा सहभागिता घटेको छ ।

उनले युवालाई राजनीतिमा जोड्न संगठनात्मक सुधार, व्यवहारिक संवाद र समावेशी वातावरण आवश्यक रहेको धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =