संविधान संशोधन बहसपत्रबारे अन्योल नबढाउन जेनजीलाई कार्यदलको आह्वान

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन्जी प्रतिनिधिहरूसँग आज गर्न लागिएको छलफलका विषयमा देखिएको अन्योलबारे स्पष्ट पार्दै सकारात्मक संवादका लागि आह्वान गरेको छ ।
कार्यदलका संयोजक असिम शाहले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य उद्देश्य रहेको भन्दै सोहीअनुसार जेन्जी प्रतिनिधिहरूलाई छलफलका लागि आमन्त्रण गरिएको स्पष्ट पारेका छन् ।
आज साँझ ५ बजे तय गरिएको छलफलका सन्दर्भमा केही जेन्जी प्रतिनिधिहरूले अघिल्लो सरकारसँग भएका सहमतिबारे असन्तुष्टि जनाउँदै बहिष्कारको कुरा उठाएपछि संयोजक शाहले त्यसबारे वास्तविकता स्पष्ट पारेका हुन् ।
उनका अनुसार अघिल्लो सरकारसँग भएका सहमतिहरू कार्यान्वयनको चरणमा छन् र जेन्जी परिषद् गठनको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । उनले अहिलेको छलफल संविधान संशोधनका लागि सुझाव संकलन गर्ने छुट्टै उद्देश्यसहित आयोजना गरिएको भन्दै अन्य विषयसँग नजोड्न आग्रह गरेका छन् ।
कार्यदलले जेन्जीहरूबाट मौखिक तथा लिखित दुवै माध्यमबाट सुझाव लिने गरी समय व्यवस्थापन गरिएको जनाएको छ । बोल्नका लागि समय कम दिइएको भन्ने जस्ता भ्रमपूर्ण प्रचार भइरहेकोप्रति संकेत गर्दै संयोजक शाहले सबैको आवाज सुन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले कुनै पनि राजनीतिक विवाद वा भ्रममा नपरी आफ्नो अधिकार र दायित्व सम्झेर छलफलमा सहभागी हुन सबै जेन्जी प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।
गत चैत २५ गतेदेखि सुरु भएको सरोकारवालासँगको छलफलअन्तर्गत कार्यदलले यसअघि संविधानविद्, पूर्वप्रशासक तथा सञ्चार क्षेत्रका विज्ञहरूसँग परामर्श गरिसकेको छ । आगामी दिनमा अन्य सरोकारवालासँग पनि छलफल गर्ने तयारी छ ।
शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीयता जस्ता महत्वपूर्ण विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित सरकारको १०० बुँदे कार्यसूचीअनुसार प्रक्रिया अघि बढाइएको कार्यदलले जनाएको छ ।
विभिन्न राजनीतिक दलका प्रतिनिधि सम्मिलित कार्यदलले संविधानमा सबै वर्ग र समुदायको अपनत्व सुनिश्चित गर्न जेन्जीहरूको अर्थपूर्ण सहभागिता आवश्यक रहेकोमा जोड दिएको छ ।








