समितिले सुधन गुरुङलाई चोख्याउने दाउ मात्र नगरोस्: भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

सरकारले गठन गरेको छानबिन समितिबारे शुक्रबार प्रतिक्रिया दिँदै आङ्देम्बेले समितिले सत्यतथ्य पत्ता लगाउने गरी काम गर्नुपर्ने बताएका हुन् । उनले समितिले गुरुङलाई सफाइ दिने उद्देश्यले काम गर्न नहुने चेतावनीसमेत दिए ।

उनले भने, “समितिले निष्पक्ष छानबिन गरोस्, चोख्याउने दाउ मात्र नगरोस् ।”

पूर्वगृहमन्त्री गुरुङ विवादित व्यापारी दीपक भट्टसँगको सेयर लगानी तथा आर्थिक सम्बन्धका कारण विवादमा तानिएका थिए । उक्त विषय सार्वजनिक भएपछि उनीमाथि राजनीतिक तथा नैतिक दबाब बढेको थियो ।

त्यसपछि गुरुङले ९ वैशाखमा नैतिकताको आधार देखाउँदै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । तर, राजीनामा दिएको तीन साता बितिसक्दा पनि सरकारले छानबिन समिति गठन नगरेको भन्दै आङ्देम्बेले गत बुधबार संसद्मा सरकारको आलोचना गरेका थिए ।

संसद् बैठकलाई सम्बोधन गर्दै उनले “पूर्वगृहमन्त्रीमाथि छानबिन नगर्ने तर अरुलाई भ्रष्टाचारको आरोपमा अल्गोरिदेमिक खेदाइ गर्ने प्रवृत्ति जायज छैन” भन्दै सरकारको दोहोरो मापदण्डमाथि प्रश्न उठाएका थिए । उनले सदनबाटै “छानबिन समिति किन गठन भएन ?” भनेर सरकारसँग जवाफ माग गरेका थिए ।

आलोचनापछि सरकारले बिहीबार उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको घोषणा गरेको थियो ।

समितिलाई गुरुङमाथि उठेका आरोपबारे अनुसन्धान गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + four =