आदिवासी जनजातिका मुद्दा उठाउन नेकपालाई महासंघको आग्रह

काठमाडौँ । नेपाल आदिवासी महासंघले आदिवासी जनजातिहरूको अधिकार र राज्यका निकायमा समान सहभागिता सुनिश्चित गर्न सहयोग गरिदिन नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई आग्रह गरेको छ ।
मंगलवार नेकपा मुख्यलाय पेरिसडाँडामा महासंघले नेकपालाई आदिवासी जनजातिहरूको माग सम्बोधन गर्न सहयोग गरिदिन ज्ञापनपत्र बुझाएको हो ।
महासंघका महासचिव विमल सारु मगरले मुलुकमा पटक–पटक भएका राजनीतिक परिवर्तन, संविधान निर्माण, संघीयताको अभ्यास तथा निर्वाचन सम्पन्न भएपनि आदिवासी जनजातिका मूल मुद्दा र अधिकार अझै प्रभावकारी रूपमा सम्बोधन हुन नसकेको बताए ।
संविधानले प्रत्याभूत गरेको समान सहभागिता र समावेशी राज्य निर्माणको लक्ष्य व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उनको भनाई छ । उनले नेपालको लोकतान्त्रिक आन्दोलन तथा समावेशी राज्य निर्माणमा नेपाली कम्युनिष्ट पार्टीले खेलेको ऐतिहासिक भूमिका स्मरण गर्दै आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्न राजनीतिक दलहरूको विशेष नैतिक, ऐतिहासिक र राजनीतिक जिम्मेवारी रहेको बताए ।
महासंघले आदिवासी जनजातिको हक–अधिकार, समानुपातिक प्रतिनिधित्व, शिक्षा, रोजगारी, भाषा तथा संस्कृतिको संरक्षण र निर्णय प्रक्रियामा प्रभावकारी सहभागितालाई पार्टीको स्पष्ट नीति तथा कार्यक्रममा प्राथमिकतासाथ समावेश गर्न आग्रह गरेको छ । समावेशी, न्यायपूर्ण र अवसरयुक्त नेपाल निर्माणका लागि राजनीतिक दलहरूले ठोस पहल र स्पष्ट प्रतिबद्धता देखाउन आवश्यक रहेको उनले बताए ।
उनले भने ‘मुलुकमा भएका राजनीतिक परिवर्तन, संविधान निर्माण, संघियताको अभ्यास तथा पटपटक निर्वाचनको बाजजुत पनि आदिवासी जनजातिका मूल मुद्दा र अधिकार पर्याप्तता सम्बोधन हुन नसक्नु अत्यन्त चिन्ताजनक विषय हो । संविधानले प्रत्याभूत गरेको समान सहभागिता र समावेशी राज्य निर्माणको लक्ष्य पूर्णरुपमा हासिल हुन सकेको छैन । नेपालको लोकतान्त्रिक आन्दोलन र समावेशी राज्य निर्माणमा नेपाली कम्युनिष्ट पार्टीको ऐतिहासिक भूमिका र योगदानलाई दृष्टिगत गर्दे आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्न तपाईँहरूको विशेष नैतिक, ऐतिहासिक र राजनीतिक जिम्मेवारी रहेको हाम्रो ठहर छ, आदिवासी जनजातिका हक अधिकार, समानुपातिक प्रतिनिधित्व, शिक्षा, रोजगारी, भाषा, संस्कृति संरक्षण तथा निर्णय प्रकियामा प्रभावकारी सहभागिता सुनिश्चित गर्ने विषयलाई पार्टीको स्पष्ट नीति तथा कार्यक्रम मार्फत प्राथमिकतामा राख्न आग्रह गर्दछौँ ।’
उनले आदिवासी जनजातिहरूले नेपालको पर्यटन, सीप, कला, संस्कृति संरक्षणमा ठुलो भूमिका निर्वाह गरेको उल्लेख गरे । महासंघले सबै राजनीतिक दलहरूलाई आफ्ना अधिकार सुनिश्चित गराउनको लागी ध्यानाकर्षण गराउने जनाएको छ ।








