प्रतिपक्ष दलहरूलाई रास्वपाको जवाफ- संसदीय व्यवस्थाको उन्नत अभ्यास हुन्छ

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले संसदीय व्यवस्थाको उन्नत अभ्यास गरिरहेको दाबी गरेका छन् ।

प्रतिपक्ष दलहरूले सरकारको संसदीय व्यवस्थाप्रतिको प्रतिबद्धता आशंका उत्पन्न भइरहेको भन्दै आलोचना गरिरहेका बेला उनले उक्त दाबी गरेका हुन् ।

उपनेता पराजुलीले निर्वाचनको बेला पार्टीले जनताको माझमा राखेको वाचा पत्रमा सुशासन कायम गरेर अघि बढ्ने भनेको र सरकारले सो काम सुरु गरिरहेको जिकिर पनि गरे । उनले दलका कार्यकर्ता उत्पादन गर्ने थलोको रूपमा शिक्षा क्षेत्रलाई सञ्चालन गर्ने कुरा मान्य नहुने उल्लेख गर्दै सबै क्षेत्रबाट दलीयकरण गर्ने कुरालाई उन्मुक्ति दिने सरकारको अभियान रहेको पनि बताए ।

उपनेता पराजुलीले भने ‘उहाँहरूले आफ्नो दलको कार्यकर्ता उत्पादन गर्ने ठाउँ विद्यालयहरूलाई बनाउने प्रयास गर्नु भयो । शिक्षा क्षेत्रलाई पनि त्यसै गर्नुभयो । अव यो जेनेरेसनले राष्ट्र निर्माण गर्ने सक्षम नागरिक उत्पादन गर्न चाहन्छ । र यो सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत सबै क्षेत्रबाट दलियकरण हटाएर सक्षम नागरिक र, नागरिकलाई सेवा दिनसक्ने त्यो व्युरोक्रेसी बनाउन चाहन्छ । अब दलका कार्यकर्ता बनाउने सपना देखेर सबै ठाउँमा दलियकरण गर्ने त्यो सपनालाई विर्सिदिनका लागि म अनुरोध गर्न चाहन्छु । र यो पुस्ताले देखेको सपनालाई आत्मासात गर्न अनुरोध गर्न चाहन्छु । यो सरकारले इकोनोमिक डिपाचर गर्ने सपना बोकेको छ । सुशासन र सेवा प्रवाह गर्नका लागि सबै निकायलाई दलीयकरणबाट उन्मुक्ति दिने कुरालाई त बाचा नै गरेको छ । र सुरुवात पनि भइसकेको छ । पाँच बुँदे करारनामामा हामीले एक नम्बरमा भनेका छौँ–सुशासन । र सुशासनको जगमा उभिँदै गर्दा यहाँहरूले स्थापना गरेको यो व्यवस्थामा नै रहेर यो व्यवस्थाको उन्नत अभ्यास गरेर सुशासन कायम गर्छौ भनेर वाचा गरेका थियौ, त्यसको अभ्यास सरकारले गरिरहेको कुरा यहाँहरूले अनुभूति गरिसक्नुभएको छ ।’

उपनेता पराजुलीले सुशासन र सेवा प्रवाहका सबै क्षेत्रलाई दलीयकरणबाट मुक्त राख्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =