शाहीले भने- यो सरकार हो कि, आतंकवादी?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले आतंकवादी गतिविधि गरिरहेको आरोप लगाएका छन् ।
मङ्गलवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सुकुम्वासी बस्तीमा डोजर चलाउने सरकार आतंकवादी हो कि होइन ? भन्ने प्रश्न समेत गरे ।
नेता शाहीले सरकारले सुकुम्वासी बस्तीमा नभई हुकुमवासीहरूको मानसिकतामा प्रहार गर्नुपर्ने आवश्यकता पनि औँल्याए । सुकुम्वासीहरूको नाममा हुकुम्वासीहरुले गरेका गलत काममा सरकारले मौनता साधेको भन्दै उनको आपत्ति थियो ।
नेता शाहीले भने ‘यो सरकार हो कि आतंकवादी हो ? म अहिले सरकारका मन्त्रीलाई भन्न चाहन्छु अगाडि राखेर तपाईँहरू बस्दै गरेको घर २४ घण्टामा खाली गर्नुस् । सक्नु हुन्छ ? सक्नु हुन्छ २४ घण्टामा डेरा सर्न ? त्यसको समय छैन । त्यो भएको हुनाले सरकारी सम्पत्ति जोगाउनु पर्छ भन्ने मान्यता राख्छु । अवैध संरचना भत्काउनुस् । यो भत्काउनु पर्छ भन्ने पक्षमा म छु । तर मानवीय संरचनामाथि डोजर चलाएर विकास हुँदैन । सरकारले सुकुम्वासी बस्ती होइन, हुकुमबासीको मानसिकतामाथि प्रहार गर्नुस् । आज सत्ता र शक्तिको आडमा पूर्व माननीयज्यूले अघि भन्नु भएको थियो–आज मन्त्रीपरिषद्का सदस्य समेत हुकुमवादी भएका प्रमाणहरू छन् । आज त्यहाँमाथि किन डोजर चलाईएन ? सुकुम्वासी बस्ती हटाउने क्रममा आज दुई जना मान्छेले आत्महत्या गर्नु पयो । अव प्रश्न उठ्छ ? नागरिकको जीवनको सुरक्षा सरकारको कर्तव्य हो कि होइन ?’
नेता शाहीले सरकारले अवैध संरचना हटाउने कुरा सही भएपनि गरिब सुकुम्वासीहरूमाथि डोजर चलाएर मानवीयतामाथि नै प्रहार गर्ने काम गरेको आरोप समेत लगाए ।








