सरकारले दलित समुदायका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरोस्: रिमा विश्वकर्मा

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले दलित समुदायको उत्थानको लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्न सरकारसँग माग गरेकी छन् ।
मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सो माग गरेकी हुन् ।
सांसद विश्वकर्माले दलित समुदायलाई न्याय दिने कुरामा पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताइन् । उनले हिरासतमा आत्महत्या गर्नेहरूको संख्या बढ्दै जाँदा पनि सरकार गम्भीर नभएको भन्दै आपत्ति समेत जनाए ।
सांसद विश्वकर्माले भनिन् ‘इन्सेकको तथ्यांक अनुसार पछिल्लो एक वर्षमा मात्रै ८८ जनाको हिरासतभित्र मृत्यु भएको छ । त्यसमा ५२ प्रतिशतमा दलित र सीमान्तकृत समुदाय परेका छन् । र, ५६ प्रतिशत मृत्युलाई आत्महत्याको रूपमा वर्गीकरण गरिएको छ । श्रीकृष्ण विकको मृत्युलाई आत्महत्या भनिनु नौला नहोला । तर हिरासतभित्र हुने अधिकांश मृत्युलाई आत्महत्या भनिनु स्वाभाविक छैन । त्यसैले पीडितलाई न्याय दिने कुरामा सरकारले ढिलाइ नगरोस बाचा पत्रका प्रमुखता पाएको दलित समुदायलाई न्याय दिँदा र बजेट विनियोजन गर्दा प्राथमिकतामा राखियोस् भनी निवेदन गर्न चाहन्छु ।’
सांसद विश्वकर्माले सरकारले दलित समुदायको हित प्रवर्द्धनमा जोड दिनुपर्ने आवश्यकता पनि औँल्याए ।








