दैनिक १६ घण्टासम्म काम गर्छु, अर्थमन्त्री बनेको ३० दिनमै ३ सय वटा निर्णय गरेँः वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्री पद सम्हालेपछि सानातिना गुनासो गर्ने ठाउँ नरहने भन्दै आफू मन्त्रालयमै केन्द्रित भएर दैनिक १२ देखि १६ घण्टासम्म काम गरिरहेको बताएका छन् ।

मंगलबार बसेको अर्थ समिति बैठकमा बोल्दै उनले पदभार ग्रहण गरेको करिब ३० दिनमै आफूले झण्डै ३ सय निर्णय गरिसकेको जानकारी दिए ।

व्यस्त कार्यतालिकाका बीच पनि सांसदहरूको कुरा सुन्ने प्रयास गरिरहेको उल्लेख गर्दै उनले छोटो समय भए पनि भेटघाट र छलफललाई निरन्तरता दिएको बताए ।

‘मन्त्रीको कुर्सीमा बसिसकेपछि सानातिना कुराले गुनासो गर्ने ठाउँ रहँदैन,’ उनले भने, ‘व्यस्त समयका बीच पनि सांसदहरूलाई सकेसम्म समय दिने प्रयास गरिरहेको छु ।’

अर्थमन्त्री वाग्लेले मन्त्रालयको कामलाई प्राथमिकतामा राख्न आफूले बाहिरी कार्यक्रम, उद्घाटन, माला–खादा तथा विभिन्न समारोहमा सहभागी हुने क्रम लगभग बन्द गरेको बताए ।

उनका अनुसार अत्यावश्यक अवस्था, औपचारिक दायित्व वा अन्तर्राष्ट्रिय रूपमा चर्चित व्यक्तिहरू सहभागी कार्यक्रममा मात्रै आफू उपस्थित हुने गरेका छन् ।

‘मन्त्रालयमै केन्द्रित भएर १२, १४, १६ घण्टासम्म काम गरिरहेका छौँ,’ उनले भने ।

उनले सांसदहरूबाट सुझाव र सद्भाव दुवै प्राप्त भइरहेको उल्लेख गर्दै त्यसले काम गर्न थप ऊर्जा दिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 1 =