प्रविधिमा आधारित निगरानी प्रणालीमा लगानी बढाउन सांसद शर्माको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले मुलुकको सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि जनशक्तिभन्दा प्रविधिमा आधारित निगरानी प्रणालीमा लगानी बढाउनुपर्ने बताएका छन् ।

मंगलबार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले ग्रामीण सडकको अवस्था, कमजोर उद्धार प्रणाली तथा विभेदकारी यातायात नीतिप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद शर्माले ग्रामीण क्षेत्रका सडक सञ्जाललाई केन्द्र सरकारले उपेक्षा गर्दा ठूला दुर्घटनाहरू निम्तिएको आरोप लगाए। स्थानीय तहका सडक कुन निकायको मातहतमा रहने भन्ने स्पष्टता नहुँदा ती सडक ‘बेवारिसे’ अवस्थामा पुगेको उनको भनाइ थियो ।

रोल्पामा हालै भएको बस दुर्घटनामा २० जनाको मृत्यु भएको प्रसङ्ग उल्लेख गर्दै उनले उद्धार व्यवस्थापनमा सरकार गम्भीर नभएको टिप्पणी गरे । पूर्वप्रधानमन्त्रीले समेत सम्पर्क गर्न खोज्दा सम्बन्धित निकायले फोन नउठाएको र घटनाको तीन दिनपछि मात्र औपचारिक समवेदना व्यक्त गरिएको भन्दै उनले असन्तुष्टि जनाए ।

सडक सुरक्षाका सन्दर्भमा बोल्दै शर्माले ट्राफिक प्रहरीको भौतिक उपस्थितिले मात्रै प्रभावकारी नियमन सम्भव नहुने बताए । अस्ट्रेलिया भ्रमणको अनुभव सुनाउँदै उनले त्यहाँ प्रविधिमार्फत निगरानी हुने गरेको उल्लेख गर्दै नेपालले पनि जीपीएस तथा आधुनिक मनिटरिङ प्रणाली अपनाउनुपर्ने सुझाव दिए ।

‘ट्राफिक प्रहरी देखुन्जेल नियम पालना गर्ने र अलि पर पुगेपछि क्षमताभन्दा बढी यात्रु चढाउने प्रवृत्ति कायम छ,’ उनले भने, ‘त्यसैले जनशक्ति थप्नुभन्दा प्रविधिमा आधारित निगरानी प्रणालीमा लगानी आवश्यक छ ।’

सांसद शर्माले कर्णाली क्षेत्रमा लागू गरिएको रात्रिकालीन यात्राको प्रतिबन्धप्रति पनि आपत्ति जनाए । सुगम क्षेत्रमा २४ घण्टा यातायात सञ्चालन हुने तर कर्णालीमा राति यात्रा गर्न नपाइने व्यवस्था विभेदकारी भएको उनको भनाइ थियो ।

उनले सडक बन्द गर्नुको सट्टा रात्रिकालीन यात्रालाई सुरक्षित र व्यवस्थित बनाउने उपाय खोज्न सरकारलाई आग्रह गरे। साथै सडक पूर्वाधार विकास तथा व्यवस्थापनमा केन्द्र, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − three =