खेलकुदको व्यवसायीकरण र खेलाडीको सामाजिक सुरक्षा सरकारको प्राथमिकतामा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा खेलकुद क्षेत्रको विकास, व्यवसायीकरण र खेलाडीको वृत्तिविकासलाई उच्च प्राथमिकतामा राखेको छ ।

सोमवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदलाई राष्ट्रिय एकता, स्वास्थ्य, पर्यटन र अर्थतन्त्रको अभिन्न अङ्गका रूपमा विकास गर्ने सरकारको योजना सार्वजनिक गरेका हुन् ।

खेलकुदको जगलाई सुदृढ बनाउन विद्यालय तहदेखि नै खेल प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ । यसबाट तल्लो तहदेखि नै दक्ष खेलाडी उत्पादनमा सहयोग पुग्ने सरकारको विश्वास छ ।

खेलकुद क्षेत्रलाई आर्थिक वृद्धिको आधारका रूपमा विकास गर्न यसको व्यवसायीकरणमा जोड दिइनेछ । खेलकुद पूर्वाधारको निर्माण र खेल गतिविधिमा निजी क्षेत्रको लगानी तथा सहभागितालाई प्रोत्साहन गर्ने नीति सरकारले अख्तियार गरेको छ ।

राष्ट्रको गौरव बढाउने खेलाडीहरूको भविष्यलाई सुरक्षित गर्न उनीहरूका लागि सामाजिक सुरक्षा सुनिश्चित गरिने कार्यक्रममा उल्लेख छ । यसले खेलाडीहरूलाई खेल जीवनमा ढुक्क भएर लाग्न थप प्रेरणा प्रदान गर्ने लक्ष्य राखिएको छ ।

खेलकुदलाई स्वास्थ्य पर्यटन र राष्ट्रिय अर्थतन्त्रसँग जोड्दै नेपाललाई खेल गन्तव्यका रूपमा विकास गर्ने रणनीतिक योजना सरकारले अघि सारेको छ ।

सरकारले युवा शक्तिलाई खेलकुदका माध्यमबाट राष्ट्र निर्माणमा परिचालन गर्ने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान सुदृढ बनाउने संकल्प समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =