अमेरिकामाथि नेपाल ‘ए’ को रोमाञ्चक जित, श्रृंखलामा शतप्रतिशत नतिजा

काठमाडौं । सन्दीप जोराको शतक प्रेरणामा नेपाल ‘ए’ ले अमेरिकासँगको दोस्रो एकदिवसीय खेलमा जित निकाल्दै श्रृंखलामा सतप्रतिशत नतिजा आत्मसात गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा भएको सोमवार भएको खेलमा सन्दीपको शतकमा नेपाल ‘ए’ ले अमेरिकामाथि ७ रनको रोमाञ्चक जित निकाल्यो । यससँगै स्कटल्याण्ड र अमेरिका सम्मिलित चार खेलको श्रृंखलामा नेपाल ‘ए’ ले शतप्रतिशत नतिजा आत्मसात गर्‍यो ।

नेपाल ‘ए’ को सफलताले आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक श्रृंखला खेल्न आएको सिनियर टोलीलाई पनि आत्मबल मिल्यो । लिग–२ को श्रृंखला मंगलवारदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछ । मूलपानी क्रिकेट मैदानमा नेपालले दुई सय ६६ रनको मध्यम लक्ष्य दियो । तर अमेरिका ४९.१ ओभरमा २५७ रनमा अलआउट भयो । अमेरिकाका मध्यक्रमका ब्याटर शेहान जयासूर्याले ७१ रनको महत्पूर्ण इनिङ खेले ।

उनले पाँचौं विकेटका लागि शुभम रञ्जानेसँग ७९ रनको साझेदारी गरे । शुभम ४७ रनमा छैटौं विकेटका रूपमा आउट भए । उनले ४८ बलमा सात चौका र दुई छक्का प्रहार गरे । शेहान दशौं विकेटको रूपमा पभेलियन फर्किएपछि नेपालको जित सुरक्षित भएको हो ।

उनको इनिङमा पाँच चौका र एक छक्का रह्यो । त्यसअघि शिर्ष क्रमका ब्याटरले ससानो इनिङ खेल्दा अमेरिकाले दबाब बनाउन सफल भयो । ओपनरद्वय स्मित पटेल ३३ रन र सायन जाहानगिरले ४१ रनको महत्वपूर्ण इनिङ खेले । स्मितले ४२ बलमा चार चौका र एक छक्का प्रहार गरे । जाहानगिरले ५३ बलमा चार चौका र एक छक्का हिर्काए ।

साइतेजा मुकामाला १६ रन र मिलिन्द कुमार ११ रनमा नै पभेलियन फर्किए । २२.३ ओभरमा अमेरिका १०७÷४ को स्थितिमा थियो । तर, शेहान र रन्जानेले इनिङ समाल्दै जिततर्पm अग्रसर गराए । नेपालको बलिङमा शेर मल्लले चार र बसिर अहमदले तीन विकेट लिए । बसिरले भने अलराउन्ड प्रदर्शन गरे । पवन सर्राफले एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने नेपालको निर्णय सही साबित भएन । सुरुमै ओपनर गुमाए पनि सन्दीप चँम्किएपछि नेपालले मध्यम योगफल बनायो । घरेलु टोेली ४९.५ ओभरमा दुई सय ६६ रनको मध्यम योगफलमा अलआउट भयो । ओपनरद्वय तृतराज दास र अनिलकुमार साह समान ९ रनमा नै आउट भए ।

त्यसपछि आएका मायन यादव २४ रनमा रनआउट हुँदा कुशल मल्ल पनि ८ रनमै पभेलियन फर्किए । यससँगै २३.५ ओभरमा नेपाल ९७/४ को अवस्थामा पुग्यो । तर, पाँचौं विकेटका लागि सन्दीप जोरा र बसिर अहदमबीच ९९ रनको साझेदारी बन्यो ।

बसिर ५१ बलमा ३८ रन बनाएर आउट भए । उनको इनिङमा तीन चौका रह्यो । सन्दीपले ११५ बलमा १११ रन बनाए । उनको इनिङमा ९ चौका र चार छक्का हिर्काए । सन्दीप प्लेयर अफ दी म्याच पनि भए । तल्लो क्रमका ब्याटर पवन सर्राफले २० रन र नारायण जोशीले १६ रन जोड्दै इनिङ उकासे ।

अमेरिकाको बलिङमा सौरभ नेत्राभाल्करले तीन तथा जसदीप सिंले दुई, शुभम, मोहम्मद मोहसिन, मिलिन्द कुमार र रुसिल उगाल्करले समान एक विकेट लिए ।नेपाल ‘ए’ स्कटल्यान्ड र अमेरिकालाई समान दुई खेलमा हराएको हो । यसअघि पनि नेपाल ‘ए’ ले घरेलु मैदानमा भएको श्रृंखलामा पनि राम्रो नतिजा दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 11 =