प्रधानन्यायाधीश सिफारिसलाई ‘सडक बहस’ नबनाउन रवि लामिछानेको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संवैधानिक घेराभित्र रहेर योग्य व्यक्तिमध्येबाट प्रधानन्यायाधीशका लागि सिफारिस गरिएको विषयलाई अनावश्यक रूपमा ‘सडक बहस’ को विषय नबनाउन आग्रह गरेका छन् ।

आइतबार ललितपुरमा पार्टीका सांसदहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै लामिछानेले संवैधानिक परिषद्मा आएका नामहरूमध्ये बहुमतका आधारमा एक जनालाई सिफारिस गर्नु कसरी असंवैधानिक हुन सक्छ भन्दै प्रश्न उठाए ।

प्रधानन्यायाधीश नियुक्तिको परम्परा भत्काइएको भन्ने आरोपप्रति आपत्ति जनाउँदै उनले पुरानै अभ्यास कायम रहेको भए अहिले पनि संवैधानिक परिषद्मा भागबण्डाकै राजनीति चलिरहने टिप्पणी गरे ।

उनले भने, ‘प्रधानन्यायाधीश सिफारिसका लागि ६ जना न्यायाधीशको सिफारिस रास्वपाको सरकार वा रास्वपाको उपस्थितिमा भएको होइन । त्यो त संवैधानिक परिषद्मा सिफारिस भएर बसेको अवस्था थियो । योग्य न्यायाधीशहरूमध्येबाट प्रधानन्यायाधीश चयन गर्दा विधि मिचिएको मानिन्छ भने संविधान संशोधनको बहस गरौँ । तर परम्परा भत्काइयो भन्ने आरोप उचित होइन ।’

लामिछानेले पुरानै शैलीमा जाने हो भने संवैधानिक परिषद्मा अहिले पनि भागबण्डाको छलफलमै समय बित्ने दाबी गरे । ‘हामीलाई भागबण्डामा विश्वास छैन । त्यसैले संवैधानिक सीमाभित्र रहेर योग्य व्यक्तिमध्येबाट प्रधानन्यायाधीशका लागि सिफारिस गरेका हौँ,’ उनले भने ।

सभापति लामिछानेले संवैधानिक आयोगमा गरिएका सिफारिसका विषयलाई अनावश्यक विवाद र बहसको विषय नबनाउन पनि सबै पक्षलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + fourteen =