छानबिनमा सहयोग नगरेपछि क्यानलाई कारबाही गर्न खेलकुद मन्त्रालयको निर्देशन

मन्त्रालयले वैशाख १४ गते राखेपलाई पत्र पठाउँदै क्यानसँग अन्तिम पटक स्पष्टीकरण माग गरी आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएको हो । उक्त पत्र २३ वैशाखमा राखेपमा दर्ता भएको मन्त्रालय स्रोतले जनाएको छ ।
अख्तियारमा २०८१ मंसिर ७ गते र २०८१ फागुन १२ गते परेको उजुरीका सम्बन्धमा मन्त्रालयमा सचिवस्तरीय तथा मन्त्रीस्तरीय निर्णयमार्फत छानबिन समिति गठन गरिएको थियो । समितिलाई छानबिन प्रक्रिया अघि बढाउने जिम्मेवारी दिइए पनि क्यानले आवश्यक अभिलेख तथा कागजात उपलब्ध नगराएको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले खेलकुद विकास ऐन २०७७ को दफा २८ को खण्ड (च) र (ड) अनुसार मन्त्रालय तथा परिषद्ले मागेका श्रेस्ता र अभिलेख उपलब्ध गराउनु सम्बन्धित निकायको कानुनी दायित्व भएको उल्लेख गरेको छ । तर, क्यानले उक्त कानुनी व्यवस्था पालना नगरेको पत्रमा जनाइएको छ ।
वैशाख १४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार क्यानलाई अन्तिम पटक चेतावनीसहित स्पष्टीकरण सोध्न र “कारबाही किन नगर्ने तथा निलम्बन किन नगर्ने ?” भन्ने विषयमा जवाफ माग्न निर्देशन दिइएको छ ।
मन्त्रालयले खेलकुद विकास ऐन २०७७ को दफा २९ अनुसार क्यानमाथि कारबाही तथा निलम्बनसम्मको प्रक्रिया अघि बढाउन सकिने उल्लेख गर्दै आयोगले मागेका जवाफ र आवश्यक कागजात उपलब्ध नभए थप कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।
यस विषयमा क्यानबाट चित्तबुझ्दो जवाफ नआए कारबाही प्रक्रिया अगाडि बढाउन मन्त्रालयले राखेपलाई निर्देशन दिएको छ ।








