संवैधानिक परिषद्मा प्रधानमन्त्रीको स्वेच्छाचारिता स्वीकार्य छैनः गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संवैधानिक परिषद्को गरिमा र यसको शक्ति सन्तुलनको मर्ममाथि प्रहार भएको बताएका छन् ।
प्रधानमन्त्रीको एकलौटी र स्वेच्छाचारी निर्णयलाई नियन्त्रण गर्न संवैधानिक परिषद्को परिकल्पना गरिएको स्मरण गराउँदै उनले हाल परिषद्को भावना विपरित कार्य भइरहेकोमा चिन्ता व्यक्त गरेका हुन् ।
संवैधानिक परिषद्मा प्रधानमन्त्रीको ‘दबदबा’ चल्न नहुने उल्लेख गरे । संविधान निर्माणका क्रममा मौलिक हक अन्तर्गत ‘आवासको हक’ र ‘दलितको अधिकार’ समेटिनुको ऐतिहासिक र संरचनात्मक कारण रहेको पनि उनले प्रस्ट पारे ।
संविधानको सम्बन्धित समितिको संयोजकका रूपमा आफ्नो अनुभव सुनाउँदै थापाले नेपालमा ऐतिहासिक र संरचनात्मक विभेदका कारण सबैभन्दा बढी भूमिहीन र सुकुम्बासी दलित समुदायमा रहेकाले संविधानमै ’भूमिहीन दलित’ शब्द उल्लेख गरिएको बताए ।
सभापति थापाले संवैधानिक निकायहरूमा हुने नियुक्ति र दलित अधिकारका सवालमा संविधानले निर्दिष्ट गरेको भावनालाई पूर्ण रूपमा पालना गर्नुपर्नेमा जोड दिए ।








