विपद् पूर्वसूचना प्रणालीलाई प्रविधिसँग जोड्दै सबै नागरिकको पहुँचमा पुर्‍याउँछौँ: मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले जल तथा मौसम पूर्वानुमान र जलवायु विश्लेषण सेवालाई थप वैज्ञानिक र परिष्कृत गर्न सरकार लागिपरेको बताएका छन् ।

शुक्रवार ललितपुरमा जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको मनसुन फोरम कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले जल तथा मौसम सेवाको गुणस्तर सुधारका लागि अवलोकन केन्द्रहरूको राष्ट्रिय सञ्जाल विस्तार, दीगो व्यवस्थापन तथा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत प्रभावकारी पूर्वानुमान प्रणाली विकास आवश्यक रहेको बताए । उनले जल तथा मौसमसम्बन्धी अध्ययन अनुसन्धानलाई प्राथमिकतामा राख्दै स्थानविशेष पूर्वानुमान प्रणाली सञ्चालन गर्न लगानी बढाउनुपर्ने उल्लेख गरे ।

उनले पूर्वसूचना प्रणालीलाई नवीन प्रविधिसँग जोड्दै सबै नागरिकको पहुँचमा पुर्याउनको लागि वित्तीय परिचालन गरिने बताए । उनले जल तथा मौसम सेवाको दायरा विपद् व्यवस्थापनमा मात्रै सीमित नराखी पर्यटन, स्वास्थ्य, भौतिक पूर्वाधार तथा जलस्रोत व्यवस्थापनजस्ता विकासका क्षेत्रसँग समेत जोड्नुपर्ने बताए ।

उनले भने ‘जल तथा मौसम विज्ञान विभागको गुणस्तर बढाउन अवलोकन केन्द्रहरूको राष्ट्रिय सञ्जाल थप विस्तार र दीगो व्यवस्थापन, जल तथा मौसमसम्बन्धी अध्ययन, अनुसन्धान, प्रोत्साहन तथा उच्चतम प्रविधिको प्रयोग गरी प्रारूपहरूको विकास र सञ्चालनमार्फत परिणात्मक स्थान विशेष पूर्वानुमान जारी गर्न लगानी बढाउनुपर्नेछ । जल तथा मौसम पूर्वानुमान र पूर्वसूचना नव प्रवर्द्धन प्रविधिको प्रयोग गरी उपलब्ध सबै सञ्चारमाध्यममार्फत सबैको पहुँचमा पुर्याउने, यस सेवालाई विपद् व्यवस्थापनका साथै पर्यटन, स्वास्थ्य, भौतिक पूर्वाधार, जलस्रोत व्यवस्थापनजस्ता विकासका क्षेत्रहरूको लागि पनि विस्तार गर्ने रहेका छन् । जसको लागि हाम्रो मन्त्रालयले जल तथा मौसम सेवा विस्तारको लागि थप वित्तीय स्रोत परिचालन गर्न तत्परता देखाएको छ । सम विभागलाई समेत यो सम्भावनाको विज्ञान भएको कारण समय समयमा मौसम प्रणाली कतातिर सिफ्ट भइरहेको छ । जलवायु परिवर्तनको कारण यस्तो फेरबदल भइरहेको हो रु यसको कारण पनि खोज्नुपर्ने छ । हामीले जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रिय बनाउने भनेका छौँ । तर हामीले आफ्नो आन्तरिक स्रोतलाई अझै बलियो बनाउन जरुरी रहेको छ ।’

जलवायु परिवर्तनका कारण मौसम प्रणालीमा देखिएको फेरबदलको वैज्ञानिक अध्ययन आवश्यक रहेको पनि उनको भनाइ छ । उनले जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नु सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै त्यसका लागि आन्तरिक स्रोत र अनुसन्धान क्षमतालाई पनि बलियो बनाउनुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =