कुटनीतिक नियोगहरुमार्फत मुलुकको कुटनीति सफल बनाउन लागि परौँः सभामुख अर्याल

काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपालको गौरव र प्रतिष्ठालाई अझ वृद्धि हुनेगरी नेपालको कुटनीतिलाई अघि बढाउन संवद्ध सबै पक्षलाई आग्रह गरेका छन् ।
नेपाल विश्व सम्बन्ध परिषद्ले शुक्रवार काठमाडौंमा आयोजना गरेका एक कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । सभामुख अर्यालले कूटनीतिक नियोगहरुको सहभागितामा कुटनीतिक सफलताको नयाँ अध्याय शुरु गर्न आवश्यक रहेको पनि बताए ।
उनले नेपालको राष्ट्रिय महत्व बुझाउनका लागि अन्तर्राष्ट्रिय विज्ञहरुको उपस्थितिमा जनसहभागितामूलक कार्यक्रममा जोड दिन आवश्यक रहेको पनि बताए ।
शिक्षाको माध्यामद्वारा प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता र जनसहभागिताका कार्यक्रमहरुद्वारा राष्ट्रिय महत्व बुझाउन जरुरी रहेको उल्लेख गर्दै सभामुख अर्यालले त्यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने पनि बताए ।
सभामुख अर्यालले नेपालले राष्ट्रिय नीतिका लक्ष्यहरु पूरा गर्नका लागि अझ धेरै मेहनत गर्नुपर्नेमा पनि जोड दिए ।








