निजी क्षेत्र एकजुट भए आर्थिक एजेन्डामा सरकारलाई सहमत गराउन सकिन्छः राणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले निजी क्षेत्र एकजुट भएर अगाडि बढे सरकार व्यवसायीका माग सम्बोधन गर्न र सहकार्य गर्न बाध्य हुने बताएकी छन् ।

महासंघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिने क्रममा उनले यस्तो विचार व्यक्त गरेकी हुन् । नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठसहितको टोलीलाई कार्यकाल सफलताको शुभकामना दिँदै पूर्वअध्यक्ष राणाले यसपटकको कार्यसमितिमा इतिहासमै पहिलोपटक ६ जना महिला निर्वाचित हुनु र नयाँ तथा पुराना सदस्यहरूको सन्तुलन हुनुले महासंघमा नयाँ उत्साह थपिएको उल्लेख गरिन् ।

विगतका कार्यकालहरूमा जनयुद्ध, महाभूकम्प, संविधान निर्माण र कोभिड–१९ जस्ता फरक–फरक चुनौतीहरू रहेको स्मरण गर्दै राणाले वर्तमान नेतृत्वसामु पनि आर्थिक संकट र बदलिँदो राजनीतिक परिवेशका चुनौतीहरू रहेको बताइन् । तर सबै व्यवसायीहरूमा ऐक्यवद्धता भए जस्तोसुकै चुनौतीलाई पनि अवसरमा बदल्न सकिने उनको तर्क छ ।

पूर्वअध्यक्ष राणाले महासंघभित्र राजनीतिक खिचातानीभन्दा पनि विशुद्ध आर्थिक मुद्दाहरूमा केन्द्रित हुनुपर्नेमा जोड दिइन् । सरकारले राखेको आर्थिक वृद्धि र प्रतिव्यक्ति आम्दानी बढाउने लक्ष्य निजी क्षेत्रको सक्रिय सहभागिताविना सम्भव नभएको उनको भनाइ छ । ७७ वटै जिल्ला, नगर, वस्तुगत र एशोसिएट सदस्यहरूको ठूलो शक्तिलाई परिचालन गर्दै महासंघले सरकारलाई दबाब र साथ दुवै दिनुपर्ने उनले उल्लेख गरिन् । ‘हाम्रो कार्यसमितिमा राजनीतिक मुद्दाभन्दा आर्थिक मुद्दाले प्राथमिकता पाउनुपर्छ । यदि हामी सचेत भएर आर्थिक एजेण्डामा एकजुट भयौँ भने सरकार हाम्रा अगाडि झुक्नैपर्छ र हामीसँग सहकार्य गर्नैपर्छ’ उनले भनिन् ।

अध्यक्ष श्रेष्ठले प्रश्तुत गरेको ६ बुँदे कार्ययोजनाको प्रशंसा गर्दै राणाले पूर्वअध्यक्षहरूको तर्फबाट आवश्यक परेको खण्डमा सधैँ रचनात्मक सहयोग र साथ रहने प्रतिवद्धता समेत व्यक्त गरिन् । उनले नयाँ नेतृत्वलाई विश्वास गरेर साथ दिन सम्पूर्ण सदस्यहरूलाई अपिल गर्दै एकता नै निजी क्षेत्रको वास्तविक बल भएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 3 =