निजी क्षेत्रको हकहित र संस्थागत सुदृढीकरणका लागि एकजुट बनौंः चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निःवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको साख जोगाउन र एजेण्डाहरू स्थापित गर्न सम्पूर्ण व्यवसायीहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

महासंघको ६० औँ वार्षिक साधारण सभा र नयाँ कार्यसमितिको निर्वाचनपछि आयोजित पद हस्तान्तरण तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठसहितको कार्यसमितिलाई बधाई दिँदै ढकालले निर्वाचनका दौरान भएका समूहगत प्रतिष्पर्धालाई बिर्सेर अब एक ढिक्का भई अगाडि बढ्न आग्रह गरे । आफ्नो कार्यकालमा भोग्नुपरेका चुनौती र हासिल भएका उपलब्धिहरूको स्मरण गर्दै ढकालले महासंघको जग अहिले धेरै बलियो बनेको दाबी गरे ।

कोभिड–१९ पछिको आर्थिक पुनरुत्थान, निजी क्षेत्रलाई अख्तियारको दायरामा राख्ने प्रयासको प्रतिवाद र ५० वर्ष पुराना कानूनहरूको सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार आयोग गठन हुनुलाई उहाँले महत्वपूर्ण उपलब्धिका रूपमा चित्रण गरे ।

नवनियुक्त अध्यक्षलाई सुझाव दिँदै उनले व्यक्तिगत व्यवसायभन्दा संस्थाको गरिमा र अध्यक्षको जिम्मेवारीलाई प्राथमिकता दिन आग्रह गरे । साथै, निजी क्षेत्रलाई केवल नाफामुखी समूहका रूपमा हेर्ने सार्वजनिक र सरकारी दृष्टिकोणमा परिवर्तन ल्याउन ‘निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीति’ को कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ छ ।

मुलुकको राजश्व, रोजगारी र पूर्वाधार निर्माणमा निजी क्षेत्रको योगदान अतुलनीय रहेको उल्लेख गर्दै ढकालले वर्तमान सरकारसँग निजी क्षेत्रका मागहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउन नयाँ कार्यसमितिलाई आफ्नो पूर्ण समर्थन रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − six =