सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ध्यान दिनुपर्छः विना गुरुङ

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विना गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सहज ढंगले संचालनमा ल्याउन सरकारसँग माग गरेकी छन् ।
बिहीवार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले सरकारले कुटनीतिक पहल गरी उक्त विमानस्थल सञ्चालनका लागि तत्काल पहल गर्नुपर्ने बताएकी हुन् ।
सांसद गुरुङले नेपालको पर्यटन प्रवद्र्धनमा भारत र चीनको महत्वपूर्ण योगदान हुने उल्लेख गर्दै उनीहरुलाई सहज ढंगले नेपाल भित्र्याउनका लागि पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको आवश्यक व्यवस्था सरकारले गर्नुपर्ने स्पष्ट पारिन् । सांसद गुरुङले पोखरामा रहेका तालतलैयाको पनि सरकारले उचित व्यवस्था गर्नुपर्ने बताइन् । ‘इन्टरनेशनल एयरपोर्ट पनि पोखरामा छ । तर यसलाई चलायमान बनाउन सकिएको छैन । यसलाई कूटनीतिक पहल गरेर चलायमान बनाइयोस् । यसमा सरकारको विशेष ध्यान जाओस भनेर पनि सरकारलाई निवेदन गर्न चाहन्छु । चीन र भारत ठूल्ठूलो जनसंख्या भएको मुलुक छ । यसबाट ठूलो मात्रामा पर्यटकहरु नेपाल भित्रयाउन सकिने सम्भावना छ । यसका लागि पोखरा र भैरहवा इन्टरनेशनल एयरर्पोट संचालन सहज ढंगले होस भन्न चाहन्छु’ उनले भनिन् ।
सांसद गुरुङले टेलिफोनमा देखिएको नेटवर्किङको समस्या समाधानमा पनि ध्यान दिन सरकारलाई सचेत गराइन् ।








