बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश: ‘साँचो क्रान्ति ज्ञानबाट सुरु हुन्छ’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा सम्पूर्ण नेपालीमा प्रज्ञामय शुभकामना व्यक्त गर्दै विश्वशान्तिको कामना गरेका छन् ।

बुद्ध जयन्तीका अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले बुद्धले देखाएको मार्ग दुःख निवारणको मार्ग भएको बताएका छन् । उनले बुद्धका चार आर्य सत्यलाई स्मरण गर्दै मानव जीवनको सार नै समस्याको पहिचान र समाधानको खोजमा निहित रहेको उल्लेख गरे ।

‘बुद्धले भन्नुभयो– दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ र दुःख निवारण गर्ने मार्ग छ,’ प्रधानमन्त्री शाहले लेखेका छन्, ‘हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा र समस्या निवारणको मार्गमा हुनुपर्छ ।’

अँध्यारोलाई उज्यालोको अभावको संज्ञा दिँदै उनले ज्ञानको किरणले अँध्यारोलाई स्वतः हटाउने उल्लेख गरेका छन् । बुद्धको जन्मभूमि नेपाल सधैं अहिंसा र शान्तिको पक्षमा रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री शाहले आफ्नो सन्देशमा क्रान्तिको परम्परागत भाष्यलाई प्रतीकात्मक रूपमा पुनःव्याख्या गर्दै ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो’ भन्ने धारणा अघि सारेका छन् ।

प्रधानमन्त्री शाहको सन्देशमाः

बुद्धले भन्नुभयो- “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।”

बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो; जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ।

शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु। बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ।

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो “ज्ञ” ज्ञान हो ।

बुद्ध जयन्तीको सुअवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना।

अप्प दीपो भवः।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =