डा.शेखर कोइरालाले गरे कांग्रेस बागमती प्रदेशका नेताहरूसँग छलफल

काठमाडौं  । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बागमती प्रदेशस्तरीय छलफल गरेका छन् । बालुवाटारस्थित ओपेरा होटलमा बिहीबार सम्पन्न उक्त छलफलमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने कांग्रेसका केन्द्रीय पूर्वपदाधिकारी, पूर्व केन्द्रीय सदस्य, जिल्ला सभापति तथा पूर्वसभापति, सांसद तथा पूर्वसांसद, प्रदेश सांसद, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यसहित अन्य नेताहरूको सहभागिता रहेको थियो ।

पार्टी र देशको पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै आगामी रणनीति निर्माणका लागि सुझाव संकलन गर्ने उद्देश्यले छलफल आयोजना गरिएको हो ।

छलफलका क्रममा सहभागी नेताहरूले आगामी १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नविकरण भइसकेको अवस्थामा पुनः अध्यावधिक गर्ने प्रक्रिया व्यवहारिक नभएको भन्दै त्यसप्रति आपत्ति जनाएका थिए । उनीहरूले यस विषयलाई पुनर्विचार गर्नुपर्ने धारणा राखे ।

त्यस्तै, विशेष महाधिवेशनका कारण पार्टीभित्र एकता कायम हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरिएको थियो । नेताहरूले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने जिम्मेवारी सभापतिको हुने भन्दै नेतृत्वले पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

छलफलमा डा. शशांक कोइराला, बलबहादुर केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, दीपक गिरी, संजय गौतम, शिव हुमागाई, राजीव कोइराला, टेकप्रसाद गुरुङ, उमेशजंग रायमाझी, डा. गोविन्दराज पोख्रेल, किरण यादव, गणेश लामा लगायत नेताहरूको उपस्थिति थियो ।

त्यसैगरी संघीय सांसदहरू डा. चन्द्रमोहन यादव, उर्मिला थपलिया र गीता देवकोटा, कांग्रेस बागमती प्रदेश समितिका महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री जीवन डंगोलसहित विभिन्न पदाधिकारी र सदस्यहरू सहभागी थिए ।

जिल्ला सभापतिहरूमा धादिङका रामनाथ अधिकारी, नुवाकोटका रमेश महत, चितवनका राजेश्वर खनाल लगायत सहभागी थिए । मकवानपुर, सिन्धुली, काठमाडौं महानगरलगायतका जिल्ला तथा स्थानीय तहका नेताहरूको पनि उपस्थिति रहेको थियो ।

कुल १ सय २३ जनाको सहभागितामा सम्पन्न उक्त छलफलमा पार्टी संगठन, आन्तरिक एकता र आगामी राजनीतिक दिशाबारे गम्भीर छलफल भएको सहभागीहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 11 =